भरतपुर । अहिले देशभर स्थानीय निर्वाचनको सरगर्मी बढ्दो छ । देशैभरका ७५३ पालिकामा उमेदवारहरु आमसभा, कोणसभा, आमसंचार माध्यम र सामाजिक संजाल तथा घरदैलो कार्यक्रमको समेतको माध्यमबाट मत माग्न व्यस्त छन् । कारण भरतपुर महानगरपालिका अहिले सर्वाधिक चर्चामा छ । महानगरपालिका प्रचण्डकी छोरी रेनु दाहाल उमेदवार र प्रचण्डको गृह जिल्ला चितवन भएको कारणले पनि चुनावी माहोल तातेको हो । यस महानगरपालिकामा पुनः गठबन्धनको तर्फबाट रेनु दाहाल मेयर पदमा चुनावी मैदानमा होमिएकी छिन भने उपमेयर पदमा नेपाली कांँग्रेसका महानगर सभापति चित्रसेन अधिकारीले चुनाबी मैदानमा छन् । दलीय भागबण्डामा महानगरका २९ वटा वडाहरुमध्ये २० वटा भन्दा बढी वडा अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांँग्रेसका उमेद्वारहरु प्रतिस्पर्धामा छन् । महानगरका अधिकांश वडाहरुमध्ये वडा नम्बर २ मा पनि कांँग्रेस बलियो देखिन्छ । कारण यस वडाका अध्यक्षका रुपमा युवा नेता तथा व्यवसायी मनोज रानाभाट पार्टीका तर्फबाट सर्वसम्मत सिफारीशमा परेका दरिला उम्मेदवार हुन् ।
पारिवारिक राजनीतिक पृष्ठभूमि
मध्यम परिवार जन्मेका उनका हजुरबुबा ,बुबा पञ्चायतकालदेखिनै प्रजातन्त्रका पक्षमा लडेका धरोहर थिए । परिवारको संस्कार र सिकाईका कारण नै उनभित्र नजांँनिदो तरिकाले राजनीतिमा रस पस्दै गयो । ‘मेरो हजुरबुबा , बुबा पञ्चायतकाल देखिनै प्रजातन्त्रको लागि पसिना बगाउनुभयो । म त्यही संस्कार र पृष्ठभूमिबाट हुर्के ।’ उनी विगत फर्कन्छन् ।
सानैदेखि राजनीतिलाई नजिकबाट हेर्दै र भोग्दै आएका रानाभाटको लागि राजनीति सफलताको खुड्किलो बन्दै गयो । २०५५ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका मनोजले अहिले लोकतन्त्रको रक्षा र वडाको समृद्धिको लागि लड्दैछन । ‘मैले २०५५ सालबाट सप्तगण्डकी क्याम्पसबाट नेपाली कांँग्रेसको राजनीति यात्रा शुरु गरेको हुंँ , अझैपनि निरन्तर यो यात्रा जारी छ ।’ उनी भन्छन् । उनले तात्कालिन समयमा सप्तगण्डकी क्याम्पसको स्ववियुको सचिव पदमा उमेद्वारी दिएका थिए । उनी त्यसपछि पनि राजनीतिमा थप सक्रिय बन्दै गए । ‘त्यही समयमा म फेरी भरतपुर महानगरपालिका वडा नम्बर २ मा कांँग्रेस पार्टीमा प्रवेश गरें ’ उनले सुनाए । वडाका हरेक गतिविधिमा उनी सक्रिय रहेका कारण पार्टीप्रतिको विश्वास थप बढ्यो । नेपाली कांँग्रेसको १२ औ महाधिवेशन अन्तर्गत वडामा भएको निर्वाचनमा उनी उपसभापतिमा निर्वाचित हुन सफल भए । ‘कांँग्रेस पार्टीप्रतिको निष्ठा र लगावले होला पार्टीको १३ औं र १४ औं अधिवेशनबाट म वडामा दुईपटक सभापति बन्न सफल भएँ ’उनी थप्छन् ।
आफू नेपाली कांँग्रेसको वडा सभापति भएरपनि वडावासीको समान र समानान्तर विकास चाहने रानाभाट अहिले आसन्न स्थानीय निर्वाचनको वडा अध्यक्षका रुपमा उमेद्वारी दिएर चुनावी मैदानमा होमिएका छन । भूमिहिनको उल्लेख्य बसोबास रहेको आंँपटारी क्षेत्रमा उनले गरेको सामाजिक कामले होला उनलाई भूमिहिनहरुले कहिल्यै विर्सदैनन । ‘मैले कोरानाको समयमा कहिले राहत सामाग्री लिएर घरदैलो पुंँगे , कहिले कुखुराको चल्ला वितरण गर्न पुंगे । उनी भन्छन , त्यसैले पनि उहांँहरुको मत मलाई दिनुहुन्छ भन्ने आशा छ ।’ त्यतिमात्र होइन उनले वडावासीका सयौं घरमाथि रहेको विजुलीको ‘हाइटेन्सन’ लाईनलाई विस्थापित गर्न पहल गरि सफलता प्राप्त गरेका कारण पनि उदाहरणीय व्यक्तिको रुपमा परिचित छन् ।
हाल चुनावी प्रचारप्रसारमा हरेकको घरदैलोमा पुगेका उनले वडाबासीको मन र मत जितिसकेको बताए ।
आवद्धता
उनी पोल्ट्री व्यवसायमा लामोसमयदेखि लाग्नुका साथै विभिन्न व्यवसायिक तथा सामाजिक संस्थाहरुमा काम गरेर अनुभव बटुलिसकेका छन । जलदेवी सामुदायिक वनको सदस्य, सल्लाहकार ,नमस्ते युवा क्लबको संस्थापन अध्यक्ष, मिल्स एरिया टोल सुधार समितिको सल्लाहाकारको अनुभवका साथै लायन्स र लियो क्लबमा समेत आवद्ध भएर काम गरिसकेका छन् । उनी व्यवसायिक संस्थामा पनि उत्तिकै सक्रिय रहंँदै आएका छन् । नेपाल पोल्ट्री कल्याणकारी संघको केन्द्रिय अध्यक्ष , नेपाल ह्याचरी संघ, वाग्मती प्रदेशका उपाध्यक्ष हुनुका साथै चितवन अटो मेकानिकल व्यवसायी संघको सल्लाहकारको रुपमा भूमिका निर्वाह गरिरहेका छन ।
चुनावी प्रतिबद्धता
आफूले यसपटकको स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएमा वारुण यन्त्र र एम्बुलेन्सको व्यवस्था गर्ने बताउंँछन । ‘यहाँ एक त सुुकुम्वासी र विपन्न घरपरिवारको बाहुल्यता छ अर्कोतिर बजार नजिक भएर पनि स्वास्थ्य सेवाको पहुंच बाट टाढा छ’ उनले भने । उनको पहिलो प्राथमिकता यी सेवा परेपनि शैक्षिक क्षेत्रलाई पनि उत्तिकै प्राथमिकता दिने उनी बताउंँछन । वडाका निजि विद्यालयको शैक्षिक अडिट राख्ने, जनताको कामलाई सहज बनाउन वडामै कल सेन्टरको व्यवस्था गर्ने योजना रहेको उनले बताए । यस्तै अव्यवस्थित बसोबास गरिरहेका वडाबासीलाई दिर्घकालिन आवासको व्यवस्था गर्ने उनको धोको रहेको सुनाए । ‘मेरो उद्धेश्य भनौं वा लक्ष्य सानैदेखि समाजसेवामा लगाव भयो मेरा अधिकांश प्रतिबद्धतापनि सामाजिक विकास प्रतिनै लक्षित छ’उनको अठोट छ । विकासको सूचक भौतिक पूर्वाधार मात्र नभई वडालाई सम्पन्न बनाउन शिक्षा, स्वास्थ्य, प्रविधिमैत्री वडाका साथै क्षमता अभिवृद्धिका कार्यक्रम ल्याउनु जरुरी रहेको उनको भनाई छ ।
योगदानको अपेक्षा
लामो राजनीतिक पृष्ठभूमि, विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध भै जनसमुदायमा गरेको समाजसेवा तथा बडाको आर्थिक तथा समाजिक विकासका लागि रानाभाटले अगाडि सारेका प्रतिवद्धताका कारण उनी यस पटकको निर्वाचनमा वडा अध्यक्षको लागि सबैभन्दा उपयुक्त उमेद्वारको रुपमा देखा परेका छन् ।