चितवन । नेपाली कांँग्रेस चितवन गठबन्धन विरोधी उम्मेदवारको टुंगो आज लाग्ने भएको छ ।
कांँग्रेसका गठबन्धन विरोधी नेता तथा कार्यकर्ताको भरतपुरमा बसेको भेलाले उक्त निष्कर्ष निकाल्ने भएको हो । कांग्रेस केन्द्रीय सदस्य रहेका टेकप्रसाद गुरूङ र दिनेश कोइराला, पूर्वसांसद जगन्नाथ पौडेल, भीमबहादुर श्रेष्ठ, पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा र जितनारायण श्रेष्ठलगायत शम्भु अर्याल सहभागी रहने भेलाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निष्कर्ष निकाल्ने जानकारी दिएको छ । आजनै कसलाई स्वतन्त्र उम्मेदवार बनाउने भन्ने बिषयमा टुंगो लाग्ने पूर्वसांसद पौडेलले बताए । ‘कांग्रेसको जनमत राम्रो भएको चितवनमा माओवादीलाई भरतपुरको मेयर दिनु कांग्रेसका लागि घातक हो । हामीले कांग्रेसलाई जोगाउन मेयरमा स्वतन्त्र उम्मेदवारी दिने निष्कर्ष निकालेका छौं,’ पौडेलले भने ।
गठबन्धनको निर्णयले आसन्न स्थानीय निर्वाचनको भरतपुर महानगर पालिकाको मेयर पदमा पुनः माओवादीका रेणु दाहाललाई सिफारिश गरिएको भन्दै चितवनका कांँग्रेस नेता तथा कार्यकर्ताले असन्तुष्टी जनाउंँदै आएका छन ।