चितवन । स्वास्थ्य विज्ञान शिक्षालय संघ (एसिया) को अध्यक्षमा चितवनका सरोज ढकाल चयन भएका छन् । चितवनको पर्यटकीय नगरी सौराहामा सम्पन्न पाँचौं राष्ट्रिय महाधिवेशनले ढकालको अध्यक्षतामा नौं सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
श्री मेडिकल कलेज एण्ड टेक्निकल कलेज भरतपुरका सञ्चालक ढकाल यस अघि संघको सल्लाहाकार थिए । समितिको उपाध्यक्षहरुमा एभरेष्ट नर्सिङ
कलेज काठमाडौंका सञ्चालक केपी सिंह, हाम्रो स्कुल अफ नर्सिङ विराटनगरका सञ्चालक डा.शंकरप्रसाद अधिकारी,महासचिवमा नर्भिक इष्टिच्युट अफ नर्सिङ एजुकेशन काठमाडौंका सञ्चालक केएन शर्मा,सचिवमा सान इष्टिच्युट अफ नेपाल काठमाडौंका सञ्चालक प्रवल श्रेष्ठ,कोषाध्यक्षमा इनोभेटिभ कलेज अफ हेल्थ साइन्स काठमाडौंका सञ्चालक शरला केसी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा ओम हेल्थ क्याम्पस काठमाडौंका सञ्चालक किरण दुवाडी,मायादेवी टेक्निकल कलेज बुटवलका सञ्चालक चिरन्जीवि जोशी चयन भएको निर्वाचत अधिकृत नेत्रराज चटौताले जानकारी दिए । दुई सदस्यको मनोनयन पछि गरिने छ ।
सो संघ पूर्वाञ्चल विश्व विद्यालयबाट सम्बन्धन प्रास्त सो संघ स्वास्थ्य सम्बन्धी स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने निजी कलेजका सञ्चालकहरुको छाता संगठन हो । चिकित्सा शिक्षा आयोगले अबलम्बन गरेको एकीकृत प्रवेश परीक्षा प्रणालीले निजी कलेजहरु बन्द हुने अबस्थामा पुगेका छन् । नवनिर्वाचित अध्यक्ष ढकालले बन्द भएका कलेजहरु खोल्ने र विद्यार्थी संख्या बृद्धि गर्न सरकारी पहल थाल्ने प्रतिबद्धता जनाए ।
कलेज सञ्चालकहरुको सामुहिक प्रयासबाट मात्र समस्या सामधान हुने भन्दै समितिमा रहेका र समिति भन्दा बाहिर रहेका सबै सबैले अपनत्व हुने गरी संघका गतिविधि अगाडि बढाउने उनको भनाई छ । शुक्रवारबाट सुरु भएको महाधिवेशनको पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति यादवराज कोइरालाले उद्घाटन गरेका थिए । महाधिवेशनले आर्थिक र प्रगति प्रतिवेदन सर्बसम्मत रुपमा पारित गरेको छ । महाधिवेशनमा ३८ वटा निजी कलेजका सञ्चालकहरु को सहभागिता रहेको थियो ।