चितवन । नेपाल सरकारले देशभर टाईफाइड विरुद्धको खोप अभियान शुरु गर्न लागेसंँगै चितवनमा पनि यसको तयारी थालिएको छ । १५ महिनादेखि १५ बर्षसम्मका बालबालिकालाई लक्षित गर्दै जिल्लामा यही २५ गतेदेखि बैशाख ४ सम्म खोप अभियान शुरु गर्न लागिएको हो । आज स्वास्थ्य कार्यालय, चितवनले भरतपुरमा पत्रकार सम्मलेन गरी उक्त उमेर समुहका लागि खोप लगाउन आग्रह गरेको छ । स्वास्थ्य कार्यालय चितवनका निमित्त कार्यलय प्रमुख राम केसीका अनुसार जिल्लामा खोप लगाउन मिल्ने लक्षित बालबालिकाको संख्या १ लाख ९६ हजार ११ जना रहेको छ । जसअनुसार विद्यालय पढ्ने उमेर समुहका १ लाख ५९ हजार २४६ जना र विद्यालय बाहिरका गरी ३६ हजार ५६६ जना रहेको तथ्यांक छ । जिल्लामा १ महानगरपालिका ५ नगरपालिका र एक गाउंँपालिकामा गरी ९८ वटा वडा रहेका छन ।
खोप अभियानका लागि ५४० वटा खोपकेन्द्र, खोप सेसन ९४४ वटा रहेका छन भने, खोप दिने स्वास्थ्यकर्मीको संख्या ९४४ जना र १ हजार ३९४ जना स्वयंसेवक खटिने केसीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलन तथा अन्र्तक्रिया कार्यक्रममा बोल्दै भरतपुर महानगर पालिकाका स्वास्थ्य अधिकृत दिपक सुबेदीले यी उमेर समुहका बालबालिकालाई टाईफाइड बाट बढी प्रभावित भएका कारण सरकारले यो खोप अभियान शुरु गरेको बताउनु भयो । ‘तथ्यांक हेर्ने हो भने यी उमेर समुहका प्रति १लाख जनामा औषत ११ हजार जनामा टाईफाईड हुने गरेको छ , उहांँले भन्नुभयो ,यी उमेर भन्दा माथिकालाई प्रति लाख मा १ हजार ६२ मा हुने गरेको गरेको देखिएको छ । ’ विरामी भएका बालबालिकाले यो खोप लगाउन नहुने र अभियानमा छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा जिल्ला स्वास्थ्य कार्यालयमा गएर लगाउन सकिने उहांँले बताउनु भयो ।
अन्य कुनैपनि खोप लगाएको १५ दिनको अन्तराल पछि त्यस्ता बालबालिकाले खोप लगाउन सक्नेछन । कोभिडको खोप अभियानमा विद्यालयमा सञ्चालन गरिएको अभियानमा बालबालिकाको सहभागिता बढी देखिएकोले यसलाई बढी प्रभावकारी बनाउन विद्यालयमानै खोप अभियान सञ्चालन गरिएको उहांँको भनाई छ । अन्य बालबालिकाको हकमा घर नजिकैको खोपकेन्द्रमा लगाउन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ ।