चितवन। सिजनमा बढी उत्पादन भई खेर जाने कृषि उपजको भण्डारणको लागि चितवनमा बाग्मती प्रदेशकै ठूलो र देशकै नमुना अत्यधुनिक शीत भण्डार सञ्चालनमा ल्याईएको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १८ स्थित चनौलीमा १७ करोड बढीको लगानीमा चितवन चनौली शीत भण्डार सहकारी संस्था निर्माण गरिएको हो । २८ सय टन क्षमताको ‘कोल्ड रुम’ सहित शीत भण्डार आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
भण्डारमा १४ सय टन क्षमताको कक्षमा किसानहरुले आफ्नो कृषि उत्पादन राख्न पाउँछन् भने १४ सय टन बराबर क्षमताको कक्षमा व्यापारीहरुलाई निश्चित भाडा लिएर कृषिजन्य उत्पादन राख्न दिइने भण्डारका अध्यक्ष सूर्य पौडेलले जानकारी दिए । शीत तभण्डारको अण्डरग्राउण्डमा दूध तथा मासुजन्य फ्रोजन उत्पादन गर्न सकिने बनाईएको छ ।
सहकारी मोडलमा स्थापित पाँच तला भएको शीत भण्डारमा सबै कक्षलाई अत्यधुनिक प्रविधि प्रयोग गरी २४सै घण्टा वातानुकुलित बनाईएको छ । शीत भण्डारमा किसान र व्यापारीले आवश्यकता अनुसार कृषिजन्य उत्पादन भण्डारण गरेर राख्न पाउने व्यवस्था गरिएको अध्यक्ष पौडेलले बताए चितवनमा सिजनमा उत्पादित बन्दा, काउली गोलभेडा, कांँक्रो , फर्सी लगायतका कृजिजन्य उत्पादन जोतेर फाल्नु पर्ने अवस्थाको अन्त्य गर्नपनि शीत भण्डारको अवधारणा ल्याईएको हो । चितवनमा बर्षेनी यी उत्पादन जोतेर, कुहाएर फाल्नु पर्ने बर्षौंदेखिको नियति छ , पौडेलले भने, यसको अन्त्यको लागि प्रदेश सरकारको सहयोग सहित शीत भण्डार सञ्चालनमा ल्याईएको हो ।
मौसममा कृषकले सहुलियत दरमा कृषिजन्य उत्पादनको भण्डारण गरी बेमौसममा उपभोक्ताले समेत उचित मुल्यमा खरीद गर्न पाउने भन्ने हेतुले भण्डारण सञ्चालनमा ल्याईएको हो ।
शीत भण्डारमा सहकारी विभागको पाँच करोड ८१ लाख ४८ हजार ७४९, बागमती प्रदेश सरकारको ५७ लाख ९१ हजार ८७०, भरतपुर महानगरको चार लाख ८२ हजार १६३, सहकारीको आठ करोड ६१ लाख ४२ हजार ३१० र बैंकको ऋण दुई करोड ९५ लाख रुपैयाँ लगानी भएको छ ।
शीत भण्डारको संरचनामा पप प्यानल र स्टिलको प्रयोग गरिएको छ । आवश्यकताअनुसार चिसोपना कायम गर्न मिल्ने पप प्यानल इन्सुलेटेडको प्रयोग गरिएकाले यो शीत भण्डार देशकै नमुना शीत भण्डार भएको अध्यक्ष पौडेलको भनाई छ ।
दुईवटा लिफ्ट, फोरजनजन्य सामान भण्डारण गर्ने दुई सय टन क्षमताको दुईवटा कोल्ड रुम र मोज्याक टायललगायतका पूर्वाधार तयार गर्न अझै बाँकी रहेपनि रकम अभावमा हाल गर्न सकिएको छैन । यी पूर्वाधार तयार गर्न करिब दुई करोड लाग्ने र त्यसका लागि सहकारी विभागसँग सम्झौता हुन लागेको छिट्टै पूर्णता पाउने उनले जानकारी दिए ।
हाल शीत भण्डारमा चितवन लगायत हेटौडा, नवलपुर लगायत अन्य जिल्लाबाट कृषि उपज आउन थालेको छ । शीत भण्डारमा कृषक तथा सहकारी संस्थाको अपनत्व होस भन्ने हेतुले उनीहरुको शेयर लगानी गरिएको छ । हाल शीत भण्डार एकलाख रुपैंयादेखि पांँचलाख सम्म कृषक, सहकारी एवं व्यापारी गरी १ हजार तीनजनाको शेयर लगानी भएको सहकारीले जानकारी दिएको छ ।
शीत भण्डार निर्माण गर्ने उद्देश्यले २१ असार २०६९ मा सहकारी स्थापना भएको हो । नौ वर्षको अवधिमा ५४ वटा सहकारी संस्थालाई एकीकृत गर्दै एक हजार तीन जना शेयर सदस्य पु¥याइएको हो ।