चितवन । चितवन जिल्ला खेलकुद विकास समितिका नव नियुक्त अध्यक्ष उत्तम गुरुङले पदभार ग्रहण गर्नुभएको छ । वाग्मती प्रदेश खेलकुद विकास परिषद्को फागुन ११ गतेको निर्णयअनुसार चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त हुनुभएको गुरुङले आज (मंगलबार) पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष गुरुङले चितवनको खेलकुद विकासका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो । पछिल्लो समय कोरोनाका कारण सुस्ताएको खेलकुदको गतिविधिलाई पुनः माथि उकास्न आफ्नो कार्यकालमा भूमिका खेल्ने उहाँको भनाइ छ ।
जिल्लामा रहेका स्थानीय तहहरुसँगको समन्वयमा खेलाडीहरुलाई प्रशिक्षण लगायत उनीहरुको वृत्ति विकासको काम गर्ने गुरुङको भनाइ थियो । आगामी दुई वर्षे कार्यकालका लागि गुरुङ अध्यक्षमा नियुक्त हुनुभएको हो । पदभार ग्रहणसँगै गुरुङलाई चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकाल सहितका कर्मचारीहरुले स्वागत तथा बधाई ज्ञापन गरेका थिए । गुरुङ यस अघि पनि एक कार्यकाल चितवन जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भइसक्नुभएको छ ।