चितवन । सुनचांँदी बचत तथा ऋण सहकारी संस्था, नारायणगढले भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित सानोघर लाई आर्थिक सहयोग गरेको छ । संस्थाको ९ औं बार्षिकोत्सवको अवसर पारेर सानोघरमा आश्रित बालिकाहरुलाई नगद २१ हजार १११ रुपैंया सहयोग गरेको हो । संस्थाका अध्यक्ष बाबुराम रामदाम, उपाध्यक्ष रुवीन रामुदामु , सचिव टुलक वि.क, साकोसका लेखासमितिका संयोजक त्रिलोक विक ,सदस्य निलेनमान शाक्य, विकास बर्मा , रमेश सदाशंकर,सहकारी का व्यवस्थापक रमेश रामदाम , सुनचांँदी व्यवसायी संघ,चितवनका अध्यक्ष टेक बहादुर विश्वकर्मा लगायतले संस्थाकी सञ्चालिका विमला श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य दिंँदै उपाध्यक्ष रुवीन रामुदामुले संस्थाले आफ्नो व्यवसायिक धर्म निभाउनुका साथै साकोसले सामाजिक सेवापनि उक्ति सक्रिय रहंँदै आएको बताए । संस्थाले बालबालिकाको लालनपालन र शिक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै बार्षिकोत्सवको अवसरमा सहयोग गरिएको बताए । आफूले थोरै रकम भएपनि संस्थालाई दिन पाउंँदा आफूलाई अत्यन्त खुशी लागेको रामुदामुको भनाई थियो ।
संस्थाका अध्यक्ष बाबुराम रामदामले यस्ता अनाथ बालिकालाई संरक्षण गर्नु राज्यको दायित्व भएपनि हरेक नागरिकको पनि उत्तिकै दायित्व रहने बताए । यो रकमले बालबालिकाहरुको चहराईरहेको घाउमा मलम लगाउन केही मदत पुग्ने रामदामको भनाई दियो । आगामी दिनमा पनि यस्ता सामाजिक सेवाको कार्यलाई संस्थाले निरन्तरता दिने उनले बताए । यस्ता साना सहयोगले समाजमा उत्प्रेरणा मिल्नुका साथै सकारात्मक सन्देश दिने उनको भनाई थियो ।
सुनचांँदी व्यवसायी संघ, चितवनका अध्यक्ष टेक बहादुर विश्वकर्माले यस्ता सामाजिक संस्थालाई सहयोग गर्नु मानवीय र पवित्र कार्य रहेको भन्दै भविष्यमा आफूले संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सानो घरकी सञ्चालिका श्रेष्ठले निकै चुनौतिका बीच संस्था स्थापना गरेको बताउंँदै रकम अभावका कारण संस्था चलाउन समस्या रहेको बताइन । संस्थाको नियमित तथा भरपर्दो श्रोत नभएको भन्दै दाताहरुको सानो सानो सहयोगबाट संस्था चलाएको बताईन । हाल संस्था भाडाको घरमा बस्दै आएको जानकारी दिदै उनले आगामी दिनमा संस्थाको आफ्नै भवन बनाउने योजना रहेकोले सबैसंँग हातेमालो र सहयोगको अपेक्षा गरिन । कार्यक्रम संस्थाका सचिवसचिव टुलक वि.कले सञ्चालन गरेका थिए ।
सानो घर २०६७ सालमा पांँच जना बालिकालाई संरक्षण गरेर शुरुवात भएको यस संस्थामा हाल २२ जना बालिकाहरु आश्रित छन ।
बे्रन ट्युमर विपन्न बिरामीलाई आर्थिक सहयोग
संस्थाले माडी नगरपालिका वडा नम्बर ६ निवासी चिज कुमारी विकलाई पनि आर्थिक सहयोग गरेको छ । संस्थाको ९ औं बार्षिकोत्सवको अवसर पारेर आज नारायणगढ स्थित संस्थाको कार्यालयमा मा विककी छोरीलाई नगद ११ हजार १११ रुपैंया नगद सहयोग गरेको हो । विपन्न परिवारमा उपचार गर्न सहयोग होस भन्ने हेतुले रकम सहयोग गरिएको संस्थाका अध्यक्ष बाबुराम रामदामले बताए ।