काठमाडौं। सामान्यतया नेपाली पशुपालन क्षेत्रमा बाख्रा र कुखुरासँगै राखेर पाल्न हुन्न भन्ने मान्यता रहेको छ ।
कुखुराबाट आउने ग्यासले बाख्रालाई असर गर्ने र बाख्रको ग्यासले कुखुरालाई असर गर्ने भएकाले सँगै राख्दा बाख्रा र कुखुरा दुबै रोगी हुन्छन् भन्ने विश्वास छ । तर २८ वर्षिय सुचन राईले नेपालमै पहिलो पटक हाईटेक फाम प्रविधिबाट बाख्रा र कुखुरालाई सँगै राखेर पशुपालन शुरु गरेका छन् ।
उनले निर्माण गरेको हाईटेक फाममा कुखुराको र बाख्राको ग्यास एक अर्काको खोरमा सिधै प्रवेश गर्न सक्दैन । उनले एक वर्ष अघिदेखि चितवनको भरतपुरमा ‘ मदर फाम ‘ खोलेर एकै ठाउँमा बाख्रा र कुखुरा पालन गरिरहेका छन् ।
राई सन् २०१३ मा पढाईको सिलिसलामा जापान गएका थिए । ५ वर्षको अवधिमा उनले जापानमा धेरै कुरा सिके । जापानमा रहदाँ त्याँहाको काम गर्ने शैली, समय व्यवस्थापन र वैज्ञानिक प्रविधिबाट व्यावसाय गर्न सिकेका थिए ।
जापान बस्दा त्यहाँबाट हाईटेक फार्मिङ सम्बन्धि विभिन्न सिप र ज्ञान सिकेर उनी सन् २०१८ मा नेपाल फर्केका थिए ।
नेपालमा पनि हाईटेक प्रविधिबाट पशुपालन सम्भव छ भन्ने मानसिकताले उनले परिवारको सहयोगमा २०२० मा मदर फामको शुरुवात गरेका थिए । उनले २२ लाख रुपैयाँ लगानीमा शुरु गरिएको फाममा एउटै खोरमा तल बाख्रा र माथी कुखुरा पालन गर्दै आएका छन् । अहिले उक्त फाममा ४० ओटा माउ बाख्रा, १८ ओटा खसी, तीन ओटा बोका र ८०० कुखुरा रहेका छन् ।
फाममा खरी प्रजातिका बाख्रा र लोकल जातका कुखुरा छन् । उनले ८०० कुखुराले अण्डा दिने र बजारमा अण्डा पनि सप्लाई गर्ने गरेका छन् ।
राईले फामसँगै चल्ला पनि आफैं उत्पादन गर्ने गरेको बताए । उनले भने, ‘बजारमा सँधै एउटै गतिमा आण्डा विक्री हुँदैन, विक्री नभएका अण्डाहरूलाई यहीं ह्याच गरेर चल्ला पनि बेच्ने गरेको छु ।’
उनले अहिले एउटा चल्लाको ६० रुपैयाँ, अण्डा प्रतिक्रेट ५०० रुपैयाँ, खसी प्रतिकिलो ज्यूँदो ६५० रुपैयाँ, भाले कुखुरा प्रतिकिलो ७०० रुपैयाँ र पोथी कुखुरा प्रतिकिलो ६०० रुपैयाँका दरले विक्री गर्ने गरेको आर्थिक अभियानलाई बताए । उनले हुर्काएका लोकल कुखुरा पाचँ महीनामा र खसी नौ महीनामा बेच्न योग्य हुन्छन् ।
उनले जापानमा हुदाँ नै यो व्यवसायमा लाग्ने सोच बनाईसकेका थिए । पछि नेपाल फर्केर २ वर्ष जति याहाँको बजार, पशुपालनको लागि कस्तो वातावरण उचित हुने लगायतका कुरा अनलाईन मार्फत अध्ययन गरेका थिए ।
नेपालमै केही गर्ने सोच बनाएका राईले अहिले पशुपालनबाट मात्रै मासिक १ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । उनले आफ्नै बाली लगाउने खेतमा फाम खोलेको बताए । उनी भन्छन् ‘ठूलो मात्रामा जमिन छ भने कृषि बालीले पनि राम्रै उत्पादन दिन्छ । तर थोरै जमीनमा मकै, धान लगाएर त्यसमा मल, जल औषधि गरेर बेच्दा त नाफा नै हुँदैन । त्यसैले मैले फाम खोले ।’
मैले खेतमा ‘सुपर नेपियर’ जातको घाँस पनि लगाएको छु’, उनले भने, ‘सुपर नेपियर घाँसमा प्रसस्त मात्रामा प्रोटिन पाईने हुनाले बाख्राको विकासमा यसले धेरै राम्रो गर्छ ।
उनले घाँसको बिउ पनि बेच्ने गरेको बताए । उनका अनुसार सुपर नेपियर घाँस छिटो बढ्ने हुनाले अहिले यो घाँसको माग अत्याधिक रहेको छ । राईले अहिले उक्त फाममा एक जाना कामदार राखेका छन् । खालि समयमा परिवारका सदस्यले पनि सहयोग गर्ने गरेको उनले बताए ।
इभेन्ट म्यानेजमेन्टको काम पनि गर्ने राईले लकडाउनमा ईभेन्टको काम ठप्प भएपछि घरमा भएका बाख्रा र कुखुरालाई नै नयाँ प्रविधिबाट व्यवसाय बनाएका थिए ।राईले फाम र त्यभित्रका सबै बाख्रा र कुखुराको बीमा गरेका छन् । हाल चितवनभित्र सबै साना ठूला सहरमा कुखुरा र खसी विक्री गरिरहेको राईले बताए ।
अब भावी दिनहरुमा चितवन मात्रै नभएर बाहिरी जिल्लाहरुमा पनि पठाउने उनको योजना छ । उनले आफ्नो छरछिमेकमा पनि यो प्रविधिबाट गरिने पशुपालनका बारेमा ज्ञान दिईरहेका छन् ।
उनको गाँउमा नै चल्लाहरु धेरै विक्री भएको राईले बताए । राई भन्छन्, ‘हामीलाई व्यावसाय गर्नलाई त्यति ठूलो मार्केट चिन्न पर्दैन रहेछ, व्यावसाय गरिसकेपछि सानै एरियाको माग धान्न सकियो भने पनि त्यसबाटै फाईदा हुन्छ ।’
बोईलर कुखुराको तुलनामा लोकल कुखुरा पाल्न सजिलो हुने र त्यसको रोग प्रतिरोधात्मक क्षमता बढी हुने भएकाले लोकल कुखुरामा घाटा कम हुने राईको अनुभव छ ।
फाममा ह्याच मेसिन राखेका राईले आगामी दिनमा दाना बनाउने मेसिन पनि ल्याउने योजना बनाएका छन् । राईले भने, ‘दाना आफैले उत्पादन गर्न सके अहिले किनेको दानामा ३० प्रतिशत पैसा बचत हुन्छ । उनी भन्छन्, ‘हामीले यहाँ चाहेको कुरा फलाउन सक्छौं तर आफूसँग भएको आईडियालाई राम्रो ठाउँमा सदुपयोग गर्नुपर्छ ।’
मार्केट बुझेर व्यावसाय गर्न सकियो भने विदेश जानै पर्दैन । त्यहाँ गए पनि दु : ख नै गर्ने हो, यहाँ गरे पनि दु : ख नै गर्ने हो । हामीले कामलाई सानो र ठूलो भन्ने सोचाईलाई बद्ल्नु आवश्यक छ ।
आर्थिक अभियानबाट