रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाले किसानहरुलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको छ । रासायनिक मलको प्रयोग कम गर्दै किसानहरुलाई प्राङ्गारिक खेती तर्फ आर्कषित गराउन सो नगरपालिकाले किसानहरुलाई गोबर मल खरिदमा ५० प्रतिशत अनुदान दिएको हो । त्यसको लागि नगरपालिकाले ५० लाख रुपैया विनियोजन गरेको छ । एक टेलर मलको तीन हजार देखि तीन हजार ५०० रुपैया सम्म खरिद विक्री हुँदै आएको छ । सो नगरपालिकाले एक टेलर मल खरिदमा एक हजार ५०० रुपैया उपलब्ध गराउने छ । एक विघा जग्गा क्षेत्रफल हुने किसानले चार टेलरको अनुदान पाउने छन । एक विघा जग्गाको लागि गोबर मल खरिद गर्न किसानले ६ हजार रुपैया अनुदान रकम पाउने मेयर नारायण वनले बताए । नगरपालिकामा सुचिकृत भएका पशुपालन फर्महरुबाट किसानहरुले गोबर मल खरिद गर्नुपर्ने छ । त्यसका लागि अहिले सम्म १० वटा पशुपालन फर्म सुचिकृत भएका छन् । नगरपालिकामा आयोजित कार्यक्रममा मेयर नारायण वन,उपमेयर विमला दुवाडी र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले नगरपालिकाले किसानलाई मल उलपब्ध गराउन पशुपालन र्फमलाई लेखेको पत्र किसानलाई हस्तान्तरण गरेका थिए ।
सो अबसरमा मेयर वनले रासायनिक मलको प्रयोग घटाउन गोबर मल खरिदमा अनुदान दिएको बताए । हामीले किसानलाई अनुदानमा गाई दिएका छौं उनले भने पशुपालनलाई कृषिसंग जोडेर उत्पादन बढाउने हाम्रो लक्ष्य हो । अन्नबालीमा रासायनिक मलको प्रयोगका कारण प्राणघातक रोगको सिकार हुनु परेको भन्दै अर्गानिक उत्पादन गरेर स्वास्थ्य सुरक्षा गर्ने अर्को उद्देश्य रहेको मेयर वनले बताए । कार्यक्रममा उपमेयर विमला दुवाडीले वाली लगाउने बेला हुने मलको हाहाकारबाट किसानलाई मुक्ति दिलाउन गोबर मलमा अनुदान दिएको बताइन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत पौडेलले माटोको उर्भराशक्ति संरक्षण गरेर उत्पादन बृद्धि गर्ने योजनाका साथ नगरपालिकाले नयाँ कार्यक्रम सुरु गरेको बताए । कार्यक्रममा आर्थिक विकास समितिका संयोजक गुप्तनाथ भट्टराई,कृषि विकास शाखा प्रमुख प्रविण लामा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा वडाध्यक्षहरु शंकर सिंह तामाङ,तिलक राज शर्मा,रविन्द्र चौधरी,बलराम दाहाल,राजन भट्ट,विनोद बस्नेत,केशव आचार्य,विरबहादुर पाख्रिन,चित्रबहादुर भण्डारी,होमनाथ लामिछाने,हेमराज थापा,कार्यपालिका सदस्य मिना गिरी लगायतको सहभागिता रहेको थियो ।