चितवन – केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) ले सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा लगातार तेस्रो जित निकालेको छ ।
आज (सोमबार) भएको दोस्रो खेलमा १० खेलाडीमा सीमित बिएफसीले पानस युवा क्लबलाई १-० ले पराजित गरेको हो । जारी लिगमा बिएफसीको यो लगातार तेस्रो जित हो । बिएफसीले यस अघि पहिलो खेलमा नारायणगढ फुटबल क्लब एनएफसीलाई ४-० तथा दोस्रो खेलमा माडी ११ लाई २-१ ले पराजित गरेको थियो ।
बिएफसीको जितमा असिम गुरुङले गोल गरे । उनले खेलको ११ औं मिनेटमा गोल गरे । उक्त गोल बिएफसीलाई जिताउन काफी भयो । पानसले खेलमा फर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेन ।
खेलको अन्तिम केही मिनेट तनावपूर्ण भएको थियो । खेलमा थप गरिएको अतिरिक्त ८ मिनेटको दोस्रो मिनेटमा बिएफसी १० खेलाडीमा सीमित भयो । बिएफसीका मिडफिल्डर लीलाबहादुर तामाङले पानसका खेलाडीलाई फल गरेपछि रेफ्रीले उनलाई रेड कार्ड दिएका थिए । खेलाडीले मैदान छोड्न नमानेपछि केही बेर तनाव भएको थियो । सोही प्रकरणमा रेफ्रीले बिएफसीका मुख्य प्रशिक्षक धुर्व भुसाललाई पहेलो कार्ड दिएका थिए ।
खेलको म्यान अफ दि म्याच बिएफसीका सुदिप तामाङ घोषित भए । जितसँगै बिएफसीले तालिकामा ३ खेलबाट ९ अंक बनाएको छ । बिएफसी समूह ‘ए’ को शिर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको माडीको २ खेलबाट ३ अंक छ ।
यस अघि आजै भएको पहिलो खेलमा नारायणी मोटर्स युनिक क्लब बसेनी र नारायणगढ फुटबल क्लब (एनएफसी) १-१ को बराबरीमा रोकिएका छन् ।
युनिकका लागि अमृत घले तथा नारायणगढका लागि सागर लोप्चनले गोल गरे ।
खेलमा युनिकले सुरुवाती अग्रता लिएको थियो । खेलको आठौं मिनेटमा अमृतले गोल गर्दै युनिकलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ल पछि परेको नारायणगढले दोस्रो हाफमा गोल फर्कायो । ७६ औं मिनेटमा युनिकका डिफेन्डरले डिबक्स भित्र ह्याण्ड गरेपछि रेफ्रीले नारायणगढलाई पेनाल्टी दिएका थिए। उक्त अवसरलाई सागरले कुनै गल्ती नगरी गोलमा परिणत गराए ।
खेलको म्यान अफ दि म्याच युनिकका गोलरक्षक मिनशिखर गुरुङ घोषित भए । बराबरीपछि युनिकले दुई खेलबाट २ अंंक बटुलेको छ । एक खेल बढि खेलेको नारायणगढको पनि समान अंंक छ ।
लिगमा मंगलबार पनि दुई खेल हुनेछ । मंगलबार पहिलो खेलमा माडी ११ र सौराहा युवा समाज भिड्नेछन् । यो खेल दिउँसो १ बजे हुनेछ । मंगलबार नै दिउँसो ३:३० बजे रामपुर फुटबल क्लब रड्स र हर्दी युवा समाजबीच खेल हुनेछ ।
चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी लिग माघ ८ गतेसम्म चल्नेछ । लिगमा १३ टोली सहभागी छन् ।