जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका १ का चेते कुलाल एक छाक खान, एक सरो लगाउन त परै जावस सानो बस्ने झुपडी समेत नहुँदा बितेको १५ वर्षदेखि ओडारमै बस्दै आएका छन् ।
श्रीमतीले छोडेपछि बेसहारा भएका चेतेका लागि संवैधानिक व्यवस्थाले अहिलेसम्म छुन सकेको छैन ।
विगत १५ वर्षदेखि गाउँ नजिकैको ओडारमा हिउँद वर्षा कटाउँदा उहाँको उद्धारका लागि न गाउँलेले आवाज उठाए, न त स्थानीय सरकारले चासो दियो । जसका कारण ५६ वर्षीय कुलाल अहिले सम्म पुस, माघको कठ्याङग्रिदो चिसो र वर्षाको घाम पानी नभनी ओडारमै बस्न बाध्य छन् ।
पक्की घर भएकालाई पनि जनता आवासका घर परे तर चेते कुलाललाई भने परेन । त्यसको कारण उनीसँग ५६ वर्ष पुगिसक्दा पनि नेपाली नागरिकता छैन ।
हाल जुम्लाको तापक्रम माइनस ६ डिग्री छ । घर भएका मान्छेलाई पनि बिहान बेलुकाको चिसोले सताउँछ भने चेते कुलालको रात खुल्ला आकाशमुनिको ओडारमा कसरी बित्छ होला ? १५ वर्षदेखि ओडारमा बास बस्दै आएका घरबार विहीन उनीसँग सम्पत्तिको नाममा एउटा मात्र कम्बल छ,त्यो पनि फाटेको ।
‘रात चिसोमा बित्छ, दिन सडकमा भौँतारिएर बित्छ, न त मेरो घर छ, न कोही सहारा । १५ वर्षदेखि ओडारमै बाँचेको छु’ चेतेको वेदना छ ।
१५ वर्षदेखि ओडारमै बसेका चेते कुलालको कुरा मिडियाले ल्याएपछि शुक्रवार प्रशासन, सुरक्षाकर्मी, आइएनएफ नेपाल र पत्रकारको टोली राहत लिएर चेते कुलाल बसेको चन्दननाथ १ स्थित ओडारमा पुग्यो ।
आइएनएफ द्वारा ३ बोरा चामल, न्यायो कम्बल, सिरक, डस्ना राहत हस्तान्तरण गरियो । भने प्रशासनले पनि न्यायो कम्बल दियो । तर त्यही चामल, कम्बल कहाँ राख्ने ? भन्ने टुङ्गो छैन । त्यसैले राहत पाएर पनि चेते कुलालको अनुहारमा खुसी देखिएन ।
नागरिकता नभएकोले अहिलेसम्म कुनै सरकारी सेवा समेत नपाएकोले नागरिकता उपलब्ध गराइदिन पनि उहाँको माग छ ।
राहत वितरणपछि सहायक प्रमुख जिल्ला अधिकारी नन्दप्रसाद चौलागाँईले चेते कुलालको नागरिकता तत्काल बनाइदिने बताउनुभयो । उहाँका अनुसार घर निर्माण अत्यावश्यक रहेकोले जग्गाको व्यवस्था गरी घर निर्माण गरिने छ ।