चितवन। विसं २००४ सालमा स्याङ्जामा जन्मनु भएका टेकप्रसाद गुरुङ नेपाली काँँग्रेसको पुराना नेता हुनुहुन्छ । चितवन जिल्लाबाट राजनीति अघि बढाउनुभएका उहाँ उमेरले ७४ वर्ष टेके पनि जोश र जाँगर युवा उमेरको भन्दा कम छैन । हक्की स्वभावका गुरुङ नेपाली काँग्रेसको युवा नेतृत्वलाई आड भरोसाका नेता मानिन्छन् । त्यही व्यवहार कै कारण उहाँ चितवनमा निकै लोकप्रिय नेताका रुपमा चिनिनुहुन्छ । अहिले उहाँले महाधिवेशन प्रतिनिधि खुलाबाट उमेदा्री दिएर केन्द्रमा जाने सोच समेत बनाउनुभएको छ ।
उमेर ढल्कँदै गएकाले युवा पुस्तालाई राजनीति हस्तान्तरण गर्ने योजना बनाउनु भएका गुरुङ भन्नुहुन्छ, “अब मेरो यो करिबकरिब अन्तिम उम्मेदवारी हो, महाधिवेशन प्रतिनिधि भएर एकपटक केन्द्रमा पुग्ने रहर छ, त्यसपछि उठ्दिन होला ।” उहाँले महाधिवेशन प्रतिनिधि हुँदै केन्द्रीय सदस्य बन्ने योजना पनि सुनाउनुभयो ।
उहाँको राजनीतिक यात्रा निक्कै लामो छ । विसं २०१८ सालमा आफ्ना परिवारसँगै चितवन बसाई सरेपछि उहाँको विद्यार्थी जीवन र शिक्षक जीवनको यात्रा सुरुवात भयो । राजनीतिक यात्राको सुरुवातसँगै तत्कालीन शारदानगर गाविसको प्रधानपञ्चको भूमिकामा पनि उहाँ अब्बल रहनुभयो ।
विसं २०३५ सालमा जिल्ला पञ्चायत सभापति हुँदैगर्दा २०३६ सालको जनमत संग्रहकालमा निलम्बनमा हुनु परेको ताजा स्मरण उहाँसँग छ । उहाँको लोकप्रियता कै कारण विसं २०३९ मा जिल्ला सभापतिमा चयन हुनुभयो । विसं २०४४ मा पनि फेरि उहाँकै नेतृत्वमा जिल्ला सभापतिको कार्यकाल चल्यो । उहाँले त्यतीबेला थुप्रै संघर्ष झेलेर पनि पार्टीलाई सबल बनाउँदै अघि बढ्नु भएका काँग्रेसका पुराना कार्यकर्तासमेत स्मरण गर्छन् ।
नेपाली काँग्रेससँगको राजनीतिक यात्रा अघि बढ्दै गर्दा विसं २०५३ साल यता पाँच पटक जिल्ला सभापति बन्नुभयो । आठौँ महाधिवेसनबाट महासमितिको सदस्यमा निरन्तर जसो नै चयन हुनु भएका उहाँ यसपाला पनि खुलातर्फको महाधिवेशन प्रतिनिधिका प्रत्यार्थीका रुपमा उभिनु भएको छ । निरन्तरतको राजनीतिक यात्रामा नेपाली काँग्रेसको निष्ठाको राजनीति नै जीवनको अन्तिमसम कायम रहने विश्वासमा उहाँ अडिक हुनभयो । लामो समय काम गरेको अनुभवले पनि निर्वाचनमा आफ्नो राम्रो मूल्यांकन गरेर भोट पाउने आशा राख्नुहुन्छ । विसं २०७० सालमा आफ्नो चुनावी टिकट त्यागेर तत्कालिन पार्टी सभापति स्व शुशिल कोइरालाई ल्याएर चुनाव जिताउन उहाँको ठूलो योगदान छ । “त्यो मेरो त्याग हो”, उहाँ थप्नुहुन्छ, “नेता कार्यकर्ताले त्यसै मलाई पत्याएका होइनन् ।”
उहाँ आफूले यसपाला महाधिवेशसन प्रतिनिधिमा जीत हासिल गरेको खण्डमा केन्द्रिय समितिमा आफ्नो दावेदारी प्रस्तुत गर्दै सही नेतृत्व दिने सोचमा हुनुहुन्छ । नेपाली काँग्रेसमा जुन किसिमको राजनीतिक सक्रियता हुनुपर्ने हो त्यो नभइरहेको अबस्थामा त्यसलाई चलायमान गराउँदै गतिलाई तिब्रता दिनका लागि मेरो हो भनेर उहाँ प्रष्ट्याउनुहुन्छ ।
महान नेता महामानव विपी कोइरालालगायका अग्रजहरुले देशमा प्रजातन्त्र आएपछि सुकिलामुकिला हावी हुन्छन् त्यसमा फेरि नेपाली काँग्रेसले संघर्ष गर्नुपर्ने हुन्छ भन्नु भएको स्मरण गर्दै गुरुङ अगाडी भन्नुहुन्छ, त्यसैको संघर्षका लागि आफ्नो उमेदवारी हो ।”
नेपाली काँग्रेसलाई देशको नेतृत्वमा ल्याउन पनि आफ्नो भूमिका सक्रिय रहेको दावी गर्दै उहाँले विगतको स्थानीय र संघीय निर्वाचनमा गठबन्धनका कारण त्यो विथोलिएको स्मरण गर्नुभयो । नेता गुरुङ गठबन्धन गर्नुपर्छ तर गठबन्धनका लागि चितवनलाई मात्र लाद्न हुँदैन अरु ठाउँमा पनि त्यो अभ्यास हुनुपर्ने अडान राख्नुहुन्छ । चितवन मै रहेका स्थानीय नेताहरुले चुनाव जित्नसक्ने क्षमता राख्ने भएकाले त्यो अवसर पाउनुपर्नेमा जोड दिनहुन्छ । त्यसैले अबका दिनमा अरुको चिन्हमा भोट हाल्ने काम नगरियोस् भन्ने धारणा उहाँको छ ।
उहाँ पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ट नेता रामचन्द्र पौडेलसहितका उच्च नेतृत्वको उच्च समान्न आफू र चितवनले गर्ने भए पनि जसरी खेमा बनेर केन्द्रमा अस्थिरता आइरहेको छ त्यसमा आफूलगायतका नेतहरु असहमत रहेको उल्लेख गर्नुहुन्छ । पार्टीमा खेमा बनाएर तेरो र मेरो गर्ने प्रवृत्तिले भविष्यमा नराम्रो असर पर्ने तर्क उहाँले राख्नुभयो । नेता गुरुङ आफ्नो चाकरीमा रहेकालाई मात्र पार्टीमा ल्याउने काम भइरहेकाले त्यसलाई तोडेर सही नेतृत्व आउन पनि आफूजस्ता नेताहरुले भूमिका खेल्नुपर्ने भन्नुहुन्छ ।
आफूले महाधिवेशन प्रतिनिधिको चुनाव जितेको खण्डमा केन्द्रको चुनाव जितेर आफूजस्ता नेताले भोग्नुपरेको पीडाको अन्त्य गर्ने र पार्टीलाई सुधार गरेर अघि बढाउने योजना उहाँको छ ।