चितवन । भरतपुर महानगरपालिका–३ निवासी राजन गौतमको राजनीतिक यात्रा उनले एसएलसी दिएको बालकुमारी माध्यमिक विद्यालयबाट २०५० सालमा सुरु भयो । त्यतिबेला उनी नेपाल विद्यार्थी संघ बालकुमारी इकाई अध्यक्ष थिए । बालकुमारी कलेज नारायणगढबाट व्यवस्थापनमा स्नातक तह पूरा गरेका उनी आर्थिक र सामाजिक क्षेत्रमा पनि सक्रिय छन् ।
उद्योग वाणिज्य संघ चितवनको अध्यक्ष भई २०७२–७४ को कार्यकाल सफलतापूर्वक पूरा गरेका गौतम नेपाल उद्योग वाणिज्य महासंघ वागमती प्रदेश समितिको पूर्वउपाध्यक्ष पनि हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघको घरेलु तथा साना उद्योग प्रवद्र्धन समितिको सदस्य र चितवन जिल्ला काँग्रेसको उद्योग विभागको सदस्य छन् ।
लायन्स क्लब अफ चितवन सिटीका सदस्य उनी लायन्स क्लब अफ नारायणी एमजेएफको संस्थापक अध्यक्ष हुन् । राउण्ड टेबल नारायणगढका पूर्वअध्यक्ष गौतम नेपाल क्षयरोग निवारण संस्था चितवनको विशिष्ट सदस्य र नेपाल हृदयरोग निवारण प्रतिष्ठानको आजीवन सदस्य समेत हुन् । मानव अधिकार तथा शान्ति समाज नेपाल चितवनका सदस्य उनी बालकुमारी र भानु माध्यमिक विद्यालयको व्यवस्थापन समिति सल्लाहकार भइसकेका छन् ।
पारिवारिक पृष्ठभूमि काँग्रेस भएकोले उनी नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहे । २०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा अग्रमोर्चामा रहेर खटिएका गौतम परिआउँदा पार्टीलाई कर्मठ सदस्यको नाताले सहयोग गर्दै आएको बताउँछन् । नेपाली काँग्रेस १४औँ महाधिवेशनमा चितवन जिल्ला उपसभापति पदमा उम्मेदवार बनेका गौतम प्रष्ट शब्दमा भन्छन्, “भिख मागेर पार्टी चलाउन पाइँदैन । पार्टी बेचेर घर चलाउन पाइँदैन ।”
नेपाली काँग्रेसको आसन्न जिल्ला अधिवेशनमा उपसभापति पदमा तपाइँको उम्मेदवारी किन ? भन्ने प्रश्नमा उनको जवाफ छ, “मैले जिल्ला उपसभापति पदमा कुनै लहड वा रहरले उम्मेदवारी दिएको होइन । मेरो उम्मेदवारीका पछाडि केही कारण छन् । पहिलो, कुनै पनि पार्टी वा संस्थाको नेतृत्वमा रहेको व्यक्तिले समस्याको पहिचान गरी समाधानको उपाय दिन सक्नुपर्छ । समस्या औँल्याउन र समाधान दिन सक्ने क्षमता मभित्र छ । त्यसैले मेरो उम्मेदवारी ।”
उनी नेतृत्व नीतिका लागि हुनुपर्ने बताउँछन् । भन्छन्, “नीति नभए व्यक्तिका लागि नेतृत्व हुन्छ, समाजका लागि हुँदैन । मैले यसभन्दा अगाडि मलाई पार्टीले, समाजले र मैले नै नेतृत्व गरेको संस्थाले दिएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएको छु । अब पार्टीमा योगदान दिन चाहन्छु ।”
तेस्रो, “अब तपाइँ जिल्ला पार्टीको पदाधिकारीमा आउनु पर्छ” भन्ने अग्रज र शुभचिन्तकहरुको दबावका कारण पनि मेरो उम्मेदवारी आएको हो ।
बिपीद्वारा प्रतिपादन समाजवादको सिद्धान्तमा पार्टी चल्न कतै न कतै चुकेको उनको ठहर छ । नेतृत्व व्यक्तिप्रधान भयो, नीतिप्रधान हुन सकेन भन्ने गुनासो छ उनको । नेतृत्व नीतिप्रधान हुनुपर्छ भनेर आफूले जिल्ला उपसभापति पदमा उम्मेदवारी घोषणा गरेको उनले प्रष्ट पारे ।
जिल्ला सभापति पदका सबै आकांक्षीको सद्भाव आफूप्रति रहेको उनको दाबी छ । आफ्नो जितप्रति पूर्ण आशावादी देखिएका उनी भन्छन्, “मैले विगतमा सामाजिक दायित्व राम्रोसँग पूरा गर्न सक्छु भन्ने प्रमाणित गरिसकेको छु । समाजले मलाई पत्याएको छ । मतदाताहरुको साथ र सहयोग पाउँछु भन्ने विश्वास छ । यही नै मेरो जितको आधार हो ।”
‘रोजगारयुक्त समाज र भ्रष्टाचारमुक्त राष्ट्र’ आजको राष्ट्रिय आवश्यकता ठान्ने गौतम व्यक्ति स्वयंबाट परिवर्तन सुरु गर्ने हो भने परिवार, समाजहुँदै राष्ट्रमा परिवर्तन ल्याउन सकिनेमा विश्वस्त देखिन्छन् । पार्टीमा संलग्न भई आर्थिक लाभ लिने काम कसैले पनि गर्न नहुने बताउँदै उनी भन्छन्, “पार्टी व्यक्तिको आर्थिक उत्थानका लागि होइन, नीतिका लागि हो । पार्टीलाई आर्थिक रुपमा सबल र सुदृढ बनाउनु पर्छ भन्ने लागेर राजनीतिमा आएको हूँ ।”