चितवन । मिलनबाबु श्रेष्ठ कांग्रेस चितवनको राजनीतिमा नौलो नाम होइन । वागमती प्रदेश सभा सदस्य समेत रहेका श्रेष्ठले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा जिल्ला कार्यसमिति चितवनको सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् ।
गोर्खा जिल्लाको पोखरीचोक गाउंँपालिका वडा नम्बर १ मा जन्मेका उनको कांँग्रेस पृष्ठभूमि लामो छ । २००३ सालबाट कांँग्रेस राजनीतिमा सक्रिय परिवारमा जन्मेका उनी राजनीतिमा कुशल नेताको रुपमा परिचित छन् । उनको हजुरबुबा २०१२ सालमै चितवन झरेर कांँग्रेस राजनीतिमा सक्रिय रहंँदै आएका थिए । ‘मेरो माइला हजुरबा कृष्णबाबु श्रेष्ठ किशुनबाबु श्रेष्ठ (किशुनजी) र स्व. कृष्णप्रसाद भट्टराई (किशुनजी) को समकालीन हुनुहुन्थ्यो, २०१५ सालमा किशुनजी हाम्रो गोर्खाको घरमै बसेर चुनाव लड्नु भएको थियो’ बुबाको भनाइलार्ई स्मरण गर्दै उनले भने ।
हजुरबुबा कोमलनारायण श्रेष्ठ र बुबा ध्रुवबाबु श्रेष्ठकोे राजनीतिक संस्कारमा हुर्केका उनको जन्म भने २०२० सालमा भयो । २०३६ सालमा बुबा सुधारिएको व्यवस्थाको नेपाली कांँग्रेसको वडा नम्बर १० अध्यक्ष थिए । पारिवारिक प्रभावका कारण उनी हालसम्म पनि काँग्रेस राजनीतिमा उत्तिकै सक्रिय रहंँदै आएका छन् ।
स्कुले जीवनबाट नै भूमिगत रुपबाट भए पनि कांँग्रेस राजनीति प्रारम्भ गरेका मिलनबाबु तानशाही पञ्चायत व्यवस्थाबाट नै राजनीतिमा सक्रिय थिए । ‘२०३७ सालमा म अस्कल क्याम्पसमा कांँग्रेसको एकमात्र र पहिलो स्ववियु निर्वाचनको सदस्य बनेँ’ उनी सम्झन्छन् । त्यसपछि उनमा ऊर्जा थपिँदै गयो ।
उनी २०४९ सालमा भरतपुर वडा नम्बर १० मा कांँग्रेसको वडा सभापति भए । ‘म २०४९ र २०५४ दुबै पटक वडा सभापति र भरतपुर नगरपालिकाको पनि सभापति बनेँ’ उनले भने । नेता र कार्यकर्ताको मन र विश्वास जित्दै गएका उनी क्षेत्रीय सभापति हुंँदै जिल्ला कार्यसमिति, चितवनको कोषाध्यक्षमा निर्वाचित भए ।
काँग्रेसको १४ औं महाधिवेशनमा चुनावी अभियानमा होमिएका उनी भन्छन, ‘ मेरो उम्मेदवारी पार्टीलाई चुस्तदुरुस्त बनाउन र बीपीको समाजवादको यात्रालाई अघि बढाउन हो । आगामी तीनै तहको निर्वाचनमा सबैलाई समेटेर पार्टीलाई एकढिक्का बनाउनु नै मेरो मुख्य एजेण्डा हो ।’
४० बर्षदेखि लगातार सक्रिय उनले पटकपटक गिरफ्तारी र हिरासतको पीडा भोगे । तर कहिल्यै विचलित भएनन् । ‘म २०६२÷६३ को जनआन्दोलनमा नेपाली काँग्रेस प्रजातान्त्रिकबाट आन्दोलन संयोजन समितिको सदस्य भएर चितवनमा आन्दोलनमा होमिएँ, र कुशल नेतृत्व लिएँ’ उनी भन्छन् ।
बजारशास्त्रमा काठमाडौंको पिपुल्स क्याम्पसबाट स्नातक उनी लायन्स क्लबमार्फत समाजसेवामा लामो समयसम्म सक्रिय रहे । ठूलालाई आदर र सम्मान, सानालाई माया गर्ने उनी पार्टीभित्र पनि सबैलाई समान व्यवहार गर्ने नेता हुन् । ‘मेरो नामजस्तै म सबैसंँग मिलनसार र मित्रभावको स्वभाव भएको व्यक्ति हुंँ’ उनी भन्छन् ।
नेपाली कांँग्रेसमा उनको परिवारबाट उनीमात्र सक्रिय छैनन्, उनकी धर्मपत्नी अन्जनी श्रेष्ठ पनि सक्रिय छिन् । अन्जनी पद्मकन्या कलेजकी पूर्वस्ववियु सभापति हुन् । संविधानसभा सदस्य समेत भइसकेकी अन्जनीको साथ पाएका मिलनबाबु आगामी दिनमा पनि कांँग्रेस राजनीतिमा थप सक्रिय रहंँदै जाने प्रतिबद्धता व्यक्त गर्छन् ।