चितवन ।साबिक पञ्चकन्या गाविस–९ (हाल ः रत्ननगर–१३) मा २०३० साल असार ३१ गते गुरुपूर्णिमाका दिन जन्मिएका भेषराज दुवाडीले पञ्चकन्या माध्यमिक विद्यालयबाट २०४८ सालमा एसएलसी परीक्षा उत्तीर्ण गरेका हुन् । एसएलसीपछि उनले शहीद स्मृति बहुमुखी क्याम्पस टाँडीमा उच्चशिक्षा अध्ययन सुरु गरे । त्यसो त एसएलसी दिनुपूर्व नै उनी राजनीतिमा संलग्न थिए । २०४६ साल फागुन ७ गते पहिलो जनआन्दोलन सुरु भयो । त्यस दिन उनी आन्दोलनमा सहभागी हुन पञ्चकन्यादेखि चितवनको संगमचोक (हालको शहीदचोक) आइपुगेका थिए । शहीदचोकबाट गिरफ्तारीमा परेका उनले १६ दिन हिरासतमा बिताए ।
पञ्चायतनिकट एक जना आफन्तको बिहेमा सहभागी हुनुपर्ने भएपछि सादा कागजमा सही गरेर हिरासतबाट छुटेका उनी पुनः आन्दोलनमा सक्रिय बने । प्रहरीले उनलाई खोज्न थाल्यो । उनी नाइटबसमा नेपालगंज पुगे । नेपालगंज पुगेर पनि पञ्चायतविरोधी गतिविधिमा लागे । त्यहाँ पनि समातिने डर भएपछि सुर्खेत गए । सुर्खेतमा पनि पञ्चायतविरोधी आन्दोलनमा सहभागी भए । उनी सुर्खेतमै भूमिगत रहेको बेला चैत २६ गते राति बहुदल घोषणा भयो । २७ गते सुर्खेतबाट बस चढेका उनी २८ गते चितवन आइपुगे ।
चितवनको शिवनगरमा भएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा पञ्चकन्या माध्यमिक विद्यालयको प्रतिनिधित्व गर्दै सहभागी भएका दुवाडीले त्यसपछि भित्रभित्रै पार्टीलाई सहयोग गर्ने काम गरिरहे । अहिले उनी नेपाली काँग्रेस १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि खुल्लातर्फको उम्मेदवार बनेका छन् । आफ्नो जितप्रति आशावादी उनी रत्ननगर–१३ बाट निर्विरोध रुपमा क्षेत्रीय प्रतिनिधि चुनिएका हुन् ।
“महाधिवेशन प्रतिनिधिमा निर्विरोध हुने सम्भावना छैन । पहिलोपटक निर्वाचन ‘फेस’ गर्दैछु” उनी भन्छन्, “साथीहरुले जिताउनु हुनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।” आर्थिक पृष्ठभूमि बलियो भएपछि नै समाजसेवामा निस्वार्थ किसिमले लाग्न सकिन्छ भन्ने उनको मत रहेको छ । आफ्नो उम्मेदवारीको नारा उनले ‘सुसँस्कृत राजनीति र विकासका लागि आर्थिक सबलीकरण’ तय गरेका छन् ।
महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी किन दिनुभयो त ? भन्ने प्रश्नमा उनी भन्छन्, “म उद्योग क्षेत्रमा आउनुभन्दा अगाडिदेखि नै राजनीतिमा सक्रिय रहेँ । विद्यालयमा पढ्दादेखि नै आन्दोलनमा लागेँ । आर्थिक रुपमा सबल व्यक्तिले राजनीतिमा लागेर समाजसेवा गर्छु भन्दा राम्रो रुपमा लिनुपर्छ ।” यस्तै सोचेर आफूले उम्मेदवारी घोषणा गरेको उनी बताउँछन् ।
२०४८ सालदेखि नै नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेका दुवाडी २०५४ सालको स्थानीय निर्वाचनमा रत्ननगर १३ बाट नगर सदस्यमा पराजित भएका थिए । त्यसपछि व्यवसायतिर लागेका उनी पार्टीको कुनै पनि पद नलिइकन अनवरतरुपमा पार्टीलाई सबैखाले सहयोग गर्दै आइरहेका छन् । हाल रत्ननगर र भरतपुरमा रहेको चितवन मिडटाउन रिसोर्टका अध्यक्ष हुन् ।
२०७४ सालको आमनिर्वाचनमा नेपाली काँग्रेस केन्द्रीय प्रचारप्रसार विभागमा सदस्य भई गोरखाको संयोजकका रुपमा उनले काम गरेका थिए । दुवाडीले २०६२÷६३ को जनआन्दोलनमा पनि पार्टीलाई सहयोग गरेका छन् ।
हाल वागमती उद्योग परिसंघको अध्यक्ष रहेका उनले २०७४ देखि २०७६ सालसम्म चितवन उद्योग संघको अध्यक्ष भई काम गरिसकेका छन् । उद्योग संघको अध्यक्ष हुँदा उनले शक्तिखोरमा औद्योगिक क्षेत्र स्थापनाका लागि ठाउँ छनौट गर्ने र औद्योगिक क्षेत्रको काम अगाडि बढाउने कुरामा महत्वपूर्ण भूमिका खेलेका थिए ।
उद्योग, कृषि र पर्यटनसम्बन्धी विभिन्न अवलोकन भ्रमणका क्रममा उनी भारत, चीन, जापान, कतार, युएई, दक्षिण कोरिया लगायतका देश पुगेका छन् । क्षेत्रीय होटल संघमा सदस्यदेखि द्वितीय उपाध्यक्षसम्म तीन कार्यकाल काम गरेका दुवाडी जयमंगलामा रहेको श्रीराम वैदिक सँस्कृत गुरुकुलम्को अध्यक्ष हुन् । आत्रेय गोत्रीय दुवाडी सेवा समाजको संस्थापक कोषाध्यक्ष हुन् दुवाडी ।
योगी नरहरिनाथको अवधारणामा आधारित रहेर वागिश्वरीमा समावेशी गुरुकुल चलाइएको छ, जहाँ जुनसुकै जातको व्यक्तिले पनि सँस्कृतको अध्ययन गर्न पाउँछ । नरहरि आध्यात्मिक परिषद्ले यो गुरुकुल संचालन गरेको हो । यसको संचालनमा पनि दुवाडीको संलग्नता र सहयोग रहेको छ ।
आध्यात्मिक, सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा उत्तिकै क्रियाशील दुवाडी रत्ननगर रोटरी क्लबमा समेत आवद्ध छन् । स्थानीय निर्वाचनमा रत्ननगर नगरपालिका र प्रदेश तथा संघीय निर्वाचनमा रत्ननगर क्षेत्र नं. १ (ख) को आर्थिक संयोजक भई काम गरेका दुवाडी भन्छन्, “राजनीतिलाई पेशा बनाउनु हुँदैन । राजनीति समाजसेवा हो ।”