काठमाडौँ — १२ औं राष्ट्रिय जनगणना आजदेसख शुरु हुँदै छ । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित जनगणना मंसिर ९ सम्म चल्ने तथ्यांक विभागले जनाएको छ ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीको परिवारको विवरण लिइसकेपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारको जनगणना हुनेछ । त्यसका साथै प्रमुख प्रतिपक्ष एमालेका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा जनगणना हुनेछ ।
जनगणनाका लागि देशभर ८ हजार ५ सय सुपरीवेक्षक र ४० हजार गणक कर्मचारी खटाइएका छन् । एक जना गणकले कम्तीमा दिनमा १२ परिवारको लगत लिनुपर्ने हुन्छ । जनगणनाको १५ दिने अवधिमा एक जना गणकले सरदर १ सय ७५ घरपरिवारको लगत लिनुपर्नेछ । ‘एक जना गणकले एउटा परिवारसँग औसत २० मिनेटमा प्रश्नावली सोध्नेछन् ।
तथ्यांक विभागमा महानिर्देशक नेबिनलाल श्रेष्ठले ‘घरमूलीलाई जनगणनाको महत्त्व बुझाउनुपर्ने जानकारी दिनुभयो । जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । पहिलो चरण ‘घर तथा घरपरिवार सूचीकरण’ भदौ ३० मा सुरु भएर असोज १८ मा सम्पन्न भइसकेको छ । गणकहरूले मुख्य प्रश्नावली लिएर प्रत्येक परिवारको मूलीसँग सोध्नेछन् । विवरण नदिनेमाथि कानुनी कारबाही हुने जनाइएको छ ।
सुपरीवेक्षकहरू सामुदायिक प्रश्नावली लिएर देशभरिका ६ हजार ७ सय ४२ वडा कार्यालयमा पुग्नेछन् । त्यसमा वडाको क्षेत्रफल, आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको विवरण लिइनेछ । देशभरिमा ७० लाख घर र ३ करोडभन्दा बढी जनसंख्या रहेको आकलन गरिएको छ । पुसदेखि जनगणना तथ्यांक प्रविष्टि गरिने जनाइएको छ ।