काठमाडौं । पश्चिम अफ्रिकी देश सिएरा लिओनमा इन्धन ट्याङ्कर विस्फोट हुँदा मृत्यु हुनेको संख्या ९९ पुगेको छ । सिएरा लिओनको राजधानी फ्रिटाउनका भएको विस्फोटमा अन्य दर्नजौ घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
शनिबार साँझसम्म घाइते १०० जनाभन्दा धेरैको सहरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेको संख्या धेरै रहेकाले अझै मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।
बीबीसीकाअनुसार सहरको एक व्यस्त चोकमा ४० फिट लामो तेल ट्याङ्कर बससँग ठोक्किँदा विस्फोट भएको हो । यात्रुवाहक बस पूर्ण रूपमा क्षतिग्रस्त भएको बताइएको छ । आगोको मुस्लोले नजिकैका पसलहरू प्रभावित बनेका छन् ।
राष्ट्रिय विपद् व्यवस्थापनका प्रमुख ब्रिमा बुरेले आफूले अहिलेसम्मकै भयानक दृष्य देखेको बताएका छन् ।
राष्ट्रपति जुलियस माडा बायोले प्रभावित परिवारलाई सम्पूर्ण प्रकारको सहयोग सरकारले गर्ने बताएका छन् ।