चितवन । चितवनमा पछिल्लो समय शेयर बजारमा आएको उत्तारचढाव बारे अभिमुखीकरण र सचेतना दिन एक दिने तालिम हुंँदैछ ।
शेयरकर्ताहरुको मनोबल उकास्न र यसबारेको भ्रमको चिरफार गरी सत्यतथ्य जानकारी दिने उद्धेश्यसहित तालिमको आयोजना गर्न लागिएको हो । शनिबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म शेयरविज्ञ सहितको टोलीले भरतपुरमा प्रशिक्षण दिईने आयोजक संस्था इन्टेलिजेण्ट स्टक इन्भेष्टर नेपालले जानकारी दिएको छ ।
बुधबार भरतपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाका सञ्चालक सन्तोष खनालले चितवनमा रहेका शेयरधनी तथा लगानीकर्तालाई एकीकृत गर्न र यसको बजार विस्तार गर्ने उद्धेश्यसहित यस प्रकारको तालिम दिन लागिएको बताए । ‘चितवनमा अनुमानित ५० हजार शेयरलगानीकर्ता छन , कोहीले राम्ररी बुझेका छन कसैले आंशिक रुपमा । उनले भने, शेयर बजार बारे भ्रम चिर्न पनि तालिम आयोजना गर्न लागेका हौं ।’
काठमाडौं मात्र शेयरबजारको मुख्य थलो भएको परिप्रेक्ष्यमा उपत्यका बाहिरपनि शेयरबजारको संभावना र आकर्षण छ भन्ने जानकारी दिनपनि तालिम आयोजना गर्न लागिएको खनालको भनाई छ । तालिममा शेयर बजारमा नयांँ आगन्तुक र शेयरमा लगानी गरिरहेका र यसबाट अन्यौल र निराशा भएका लागि अलग्गै तालिम दिईनेछ । यसका लागि शेयर विज्ञ मुख्य प्रशिक्षकको रुपमा सन्दीपकुमार चौधरी र मुक्ति अर्यालले प्रशिक्षण दिनेछन । साथै स्थानीय अन्य जानकार तथा विज्ञहरुले पनि अभिमुखीकरण दिने आयोजकले बताएको छ ।
दुईदशक देखि शेयर बजारमा लगानीका साथै यही बिषयमा विद्यावारिधी गर्दै आएका मधुसुदन लामिछानेले लगानीकर्ताको निराशालाई मत्थर पार्न र सचेतना दिने उद्धेश्यले तालिमको आयोजना गर्न लागिएको बताए । ‘अहिले शेयर बजार हल्लाको भरमा लगानी गर्ने धेरै छन जसले गर्दा हजारौंले घाटा बेहोनुपर्ने अवस्था छ । उनले भने, बजारलाई नेतृत्व गर्न र सही ठाउंँमा लगानी प्रेरित गर्न तालिमको आवश्यकता महसुुस गरेका हौं ।’ शेयर बजार आफैमा सिर्जनशील, अध्ययनशील व्यवसाय भएको हुंँदा बुझेर लगानी गर्नुपर्ने उनको धारणा छ । ‘हामीले तालिम लिनेहरुका लागि शेयर कसरी कस्तो अवस्थामा किनबेच गर्ने, लगानी कसरी सुरक्षित गर्ने र रणनीतिका बारेमा प्रशिक्षण र सचेतना दिनेछौं ।’ शेयर विज्ञ लामिछानेले भने ।
अन्य देशमा शेयर बजारले राम्रो स्थान लिएपनि नेपाली शेयर बजारमा केही सिमीत व्यत्तिको हातमा बजार रहेकोले अधिकांशले घाटा बेहोर्नुपरेको उनको भनाई छ । ‘नेपालको परिप्रेक्ष्यमा अहिलेको अवस्थामा हेर्ने हो भने ९० प्रतिशतले निराशा र घाटा बेहोर्नुपरेको छ ,उनले भने, केवल १० प्रतिशत लगानीकर्ताले मात्र राम्रो प्रतिफल लिएका छन ।’
कार्यक्रममा तालिममा सहभागीहरुले एकहजार शुल्क तिरेर सहभागी हुन सक्नेछन । चितवन, नवलपरासी र मकवानपुर जिल्लालाई लक्षित गरी एकसयजनाले सहभागि हुने अपेक्षा राखेको आयोजकले जानकारी दिएको छ ।