काठमाडौं – अविरल बर्षापछि आएको बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । बाढी र पहिरोमा परेर कालिकोट, डडेल्धुरा, डोटी र सुनसरीमा ६ जनाको मृत्यु भएको हो
गृह मन्त्रालयकाअनुसार बाढी–पहिरोमा परेर कालिकोटमा १, डडेल्धुरामा १, डोटीमा २ र सुनसरीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
वर्षाका कारण १९ जिल्ला प्रभावित भएका छन् । प्रभावित जिल्लाहरुमा कालिकोट, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा र सुर्खेत लगायत रहेका छन् । बाढी र पहिरोबाट प्रभावित ४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने करिव ५०० घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै गृहमन्त्री बालकृष्ण खाँणले प्रभावित जिल्लाहरुमा नागरिकको जीउ धनको सुरक्षाका लागि सबै सुरक्षा निकायहरुलाई संयुक्त प्रयास जारी राख्न निर्देशन दिएका छन् । मन्त्री खाँणले प्रभावित स्थानहरुलाई मध्यनजर गरी नेपाली सेनाको हेलिकप्टरलाई तयारी अवस्थामा राख्न र राहत तथा उद्धारका लागि आवश्यक सामाग्रीहरु समयमै उपलव्ध गराउन सकिने व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।