चितवन, २५ भदौ – राष्ट्रिय टोलीका पूर्व कप्तान तथा प्रशिक्षक राजु खड्कासहित चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सहभागी चितवनका खेलाडीहरु सम्मानित भएका छन् ।
सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले प्रशिक्षक खड्कासहित ६ खेलाडीलाई सम्मान गरेको हो । सम्मानित हुने खेलाडीहरुमा कृजन गुरुङ, गौतम केसी, दिपेश श्रेष्ठ, किशोर महतो, हरि चौहान र अर्जुन चुनरा रहेका छन् ।
कृजन र गौतमले ईपीएल च्याम्पियन चितवन टाइगर्सबाट खेलेका थिए । दिपेशले भैरहवा ग्लाडिएटर्स, किशोरले पोखरा राइनोज र हरि र अर्जुनले बिराटनगर वारियर्सबाट खेलेका थिए ।
यस्तै नेपाल क्रिकेट संघ (क्यान) बागमती प्रदेशका कोषाध्यक्ष तथा भरतपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारी र टियु क्रिकेट एसोसिएसनका अध्यक्षा प्रा. डा. कृष्ण काफ्लेलाई पनि सोही कार्यक्रममा सम्मान गरिएको छ । उनीहरुलाई नगदसहित सम्मान गरिएको हो ।
सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाईबी) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा, टियु क्रिकेट एसोसिएसनका अध्यक्ष प्रा. डा. काफ्ले, (क्यान) बागमती प्रदेशका कोषाध्यक्ष अधिकारी, लोकतान्त्रीक खेलकुद संघका सदस्य बचन कार्की, सम्मानित खेलाडी श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
यसैबीच भरतपुर क्रिकेट क्लबले ‘सरकारले बनाउन पर्छ रंगशाला’ अभियान सुरु गरेको छ । भरतपुरको रामपुरमा निर्माणाधिन गौतमवुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला चरम आर्थिक अभावका कारण अलपत्र परेको भन्दै क्लबले उक्त अभियान सुरु गरेको हो ।
क्लबका अध्यक्ष अनिल अधिकारीले रंगशालाको बाँकी काम सरकारले जिम्मा लिएर बनाउनु पर्ने बताए । सरकारलाई दबाब दिनका लागि उक्त अभियान सुरु गरिएको समेत उनले जानकारी दिए । ‘सकारले बनाउनुपर्छ रंगशाला’ लेखिएको ब्यानरमा फोटो खिचेर दबाब दिईने उनले बताए ।