काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको (प्राथमिक सेयर) आईपीओमा आवेदन दिने अन्तिम दिन बिहिबार साँझ ५ बजेसम्म २१ लाखभन्दा बढीकाे आवेदन परेकाे छ । कम्पनीको आईपीओमा कुल २१ लाख ११ हजार ८ सय १९ जना आवेदकबाट २ करोड ६५ लाख ३१ हजार ४० कित्ताको लागि आवेदन परेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएकाे छ । यो मागभन्दा ३५.६६ गुणा बढी हो ।
कम्पनीले असाेज ११ गतेलेखि सर्वसाधरणलाई प्रतिकत्ता १०० रुपैयाँअंकित मूल्यमा साधारण सेयर जारी बिक्री खुला गरेकाे थियाे । कुल आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयरमध्ये दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टयाएर बाँकी रहेको सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन खुला गरेकाे हाे ।
कम्पनीकाे आईपीओमा मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट बाँडफाँड हुनेछ । जस अनुसार ७४ हजार ४ सय आवेदकले मात्र १० कित्ताको दरले सेयर पाउनेछन् भने आवेदन दिएका २० लाख बढी आवेदकले सेयर पाउने छैनन् । आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाले आवेदन इन्ट्री गर्दा आवेदन संख्या थप हुन सक्नेछ भने आवेदन भेरिफाई हुनुभन्दा अगाडिको डाटा रहेकवले यो संख्या तलमाथि हुन सक्नेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी आईआर डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेकाे छ।
कम्पनीले तल्लो ताँदीखोलामा ४.९९३ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत एक अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको छ । यो आयोजनाको प्रतिमेगावाट लागत २३ करोड आठ लाख रुपैयाँ रहेको छ । आयोजनाले ०६९ चैत २७ गते अनुमतिपत्र प्राप्त गरेको थियो । उक्त अनुमतिपत्रको बहाल अवधि २१०४ चैत १६ गतेसम्म रहनेछ ।
आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ५.४९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.५८ वर्ष रहेको छ ।
आर्थिक वर्ष ०७७/०७८ को अपरिष्कृत विवरणअनुसार कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५६ पैसाले नोक्सानीमा रहेको छ भने तीन करोड ६८ लाख ३२ हजार ९०५ रुपैयाँ सञ्चित नोक्सानीमा रहेको आयोजनाको प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ४९ पैसा रहेको छ ।
कम्पनीले चालु आर्थिक वर्ष ०७८/०७९ बाट सञ्चित नाफामा जाने प्रक्षेपण गरेको छ ।