काठमाडौं । फ्लोरिएन विर्टजको गोलमा बायर लेभरकुसेनले आज जर्मन बुन्डेसलिगामा मेइन्जलाई १–० ले हराएको छ । जितसँगै लेभरकुसेन लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
जेरेमी फ्रिमपोङको पासमा विर्टजले ६२औँ मिनेटमा गोल गरेका थिए । विर्टजको त्यही गोल लेभरकुसेनलाई जिताउन निर्णायक बन्यो ।
जितसँगै ६ खेलबाट १३ अंक जोडेको लेभरकुसेन जर्मन बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लिएको हो । यो शीर्ष स्थानको बायर्न म्युनिखभन्दा तीन अंकले पछाडि हो । समान १३ अंक जोडेको उल्फ्सबर्ग तेस्रो स्थानमा छ ।
उल्फ्सबर्ग आज होफिनहेइमसँग ३–१ ले हारेको थियो । होफिनहेइम आठ अंकका साथ नवौँ स्थानमा छ ।
आजै आरबी लाइपजिगले हेर्था बर्लिनमाथि ६–० को फराकिलो जित निकाल्यो । लाइपजिगको जितमा क्रिस्टोफर एनकुनकुले दुई गोल गरे । युसुफ पोउलसेन, नोर्डी मुकीले, इमिल फोर्सबर्ग र एमाडोउ हैडाराले एक/एक गोल गरे ।
६ खेलबाट सात अंक जोडेको लाइपजिग दशौँ स्थानमा छ । हेर्था बर्लिन ६ अंकका साथ ११औँ स्थानमा छ ।
बुन्डेसलिगाको अर्को खेलमा युनियन बर्लिनले अर्मिनिया विलेफिल्डलाई १–० ले हरायो ।\