काठमाडौं । ब्रुनो फर्नान्डेज पेनाल्टीमा गोल गर्न चुकेपछि म्यानचेस्टर युनाइटेड आज इंग्लिस प्रिमियर लिगमा एस्टन भिल्लासँग १–० ले पराजित भएको छ ।
एक गोलले पछि परेको युनाइटेडले इन्ज्युरी समयमा पेनाल्टी अवसर पाएको थियो । फर्नान्डेजले दायाँ विंग्सबाट गरेको क्रस विपक्षी खेलाडीको हातमा लागेपछि युनाइटेडले पेनाल्टी अवसर पाएको हो ।
तर, फर्नान्डेजले उक्त अवसरलाई गोलमा परिणत गर्न सकेनन् । फर्नान्डेजको प्रहार आकाशिएको थियो । यससँगै युनाइटेडले घरेलु मैदानमा एक अंक जोड्ने मौका गुमायो ।
त्यसअघि, भ्रमणकारी एस्टन भिल्लाले ८८औँ मिनेटमा कोर्टले हाउजीको गोलबाट अग्रता लिएको थियो । हाउजीले गरेको त्यही गोल एस्टन भिल्लालाई तीन जोड्न पर्याप्त बन्यो ।
योसँगै युनाइटेडले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमायो । ६ खेलबाट १३ अंक जोडेको युनाइटेड चौथो स्थानमा छ । समान १३ अंक भए पनि गोलअन्तरमा लिभरपुल शीर्ष स्थानमा छ । लिभरपुलले एक खेल कम खेलेको छ । समान १३ अंक नै जोडेको म्यानचेस्टर सिटी र चेल्सी क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । लिभरपुलले आजै ब्रेन्टफोर्डसँग प्रतिस्पर्धा गर्नेछ ।
आजै सम्पन्न खेलमा सिटीले चेल्सीलाई उसैको मैदानमा १–० ले हराएको हो । ६ खेलबाट १० अंक जोडेको एस्टन भिल्ला भने सातौँ स्थानमा छ ।