बीबीसी । अमेरिकाले विकासाेन्मुख मुलुकलाई थप ५०० मिलियन (५० करोड) डोज फाइजर खोप दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राष्ट्रसंघको महासभाको साइडलाइन कोभिड–१९ सम्मेलनमा सो प्रतिबद्धता गरेको अमेरिकी अधिकारीले बताएका छन् ।
योसँगै अमेरिकाले बाँड्नका लागि प्रतिबद्धता जनाएको खोपको कुल परिमाण एक अर्बभन्दा बढी पुग्नेछ । अमेरिकाले यसअघि नै ५८ करोड डोज खोप दिने प्रतिबद्धता गरिसकेको छ । तर, करिब १४ करोड डोजमात्र उपलब्ध गराएको छ ।
विश्वको कम्तीमा ७० प्रतिशत जनसंख्यालाई खोप लगाउन ११ अर्ब मात्रा आवश्यक पर्ने विज्ञहरू बताउँछन् ।
विश्व स्वास्थ्य संगठनले २०२१ को अन्त्यसम्म प्रत्येक देशमा न्युनतम ४० प्रतिशत भ्याक्सिन खोप पुर्याउने लक्ष्य लिएको छ । तर, लक्ष्य पूरा हुने सम्भावना छैन ।
अक्सफोर्ड विश्वविद्यालयका अनुसार उच्च आय भएका देशहरूले अहिलेसम्म आधा भन्दा धेरै जनसंख्यालाई कम्तीमा एक मात्रा खोप दिएका छन् जबकि न्युन आय भएका देशहरूका केवल २ प्रतिशत जनसंख्याले मात्र पहिलो डोज खोप लगाएका छन् ।