भरतपुर । नेपाली काँग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत वडा देखि केन्द्रसम्म देशभर अधिवेशनको सरगर्मी ह्वात्तै बढेको छ । उमेदवारहरु मतदाता रिझाउन व्यस्त, नेताहरु कार्यकर्तासँग बाक्लिदो भेटघाट र मतदाताहरु सही नेता छान्न विमर्शमा छन् ।
देशभर अधिकांश जिल्लामा वडातहको अधिवेशन पूरा भईसकेको छ ।चितवन जिल्लाका ९८ वडाहरुमध्ये सबैजसो वडाबाट सर्वसम्मत रुपमा सभापति देखि क्षेत्रीय प्रतिनिधिसम्म सर्वसम्मत चयन भएका छन । वडा स्तरीय र प्रदेश स्तरीय अधिवेशन पछि नगर अधिवेशनको लागि नेताहरु दौडधुपमा छन् अहिले ।
बिहान देखि बेलुकासम्म आफ्ना मतदाताको घरघरमा जाने, भेट्ने, सम्पर्क गर्ने क्रम तीब्र हुँदै गएको छ । सामाजिक सञ्जालमा पनि सबैले आ–आफ्ना एजेण्डा सहित जीत हासिल पार्न उमेद्वारहरु लागि परेका छन् । वडा पछि नगरको अधिवेशन हुने क्रममा अहिले क्षेत्रीय सभापतिका आकांक्षी पनि बढ्दै गएका छन् ।
क्षेत्रीय सभापतिका उमेद्वारहरुको भिडमा नेतृत्व गर्दैहुनुहुन्छ चितवन क्षेत्र नम्बर ३ का नेता लालबहादुर दवाडी । निष्ठावान उर्जाशिल दवाडी तीनदशकभन्दा बढी निरन्तर काँग्रेसको राजनीतिमा सक्रिय रुपमा हुनुका साथै लोकप्रिय नेताको सूचीमा पर्नुहुन्छ । आफ्नो उमेद्वारीबारे चितवन प्रेससँग कुराकानी गर्दै उहाँले भन्नुभयो, ‘लोकतन्त्रको रक्षा र पार्टीको संगठन विस्तार गर्न मैले सभापतिमा उम्मेदवारी दिएको हुँ । साविक क्षेत्र नम्बर ५ का सभापति भईसक्नुभएका दवाडी हाल क्षेत्र नम्बर ३ का सहसभापति हुनुहुन्छ । अधिवेशनको क्रममा रहनु भएका दवाडीले आफ्नो उम्मेदवारी सँगै जित सुनिश्चित रहेको बताउनु भयो । ‘म जिल्ला कार्यसमितिमा दुई दुई पटक काम गरिसकेको पार्टीको सिपाही हुँ उहाँले भन्नुभयो, म प्रत्येक नागरिकको घर दैलोमा पुगेर उहाँहरु सुख दुःखमा साथ दिदै आएको छु । आफू पञ्चायतकाल देखिनै प्रजातन्त्रको लागि लड्दै आएको बताउँदै उहाँले द्धन्द्धकालमा भारतमा निर्वासित भएर ज्यान जोगाएको सुनाउनु भयो ।
आफूले पार्टीलाई सदृढ र एकतावद्ध बनाउँदै दलित जनजाति आदिवासी सबैलाई पार्टीमा प्रतिनिधित्व र समावेश गर्दै अघि बढ्ने मुख्य योजना रहेको बताउनु भयो । स्कुल कमिटीबाटनै काँगेस राजनीतिको यात्रा शुरु गर्नुभएका दवाडी आठौं अधिवेशन देखि निरन्तर योगदान पुरयाउँदै आउनु भएको छ । आठौं महाधिवेशनदेखि दवाडी पटक पटक क्षेत्रीय प्रतिनिधि हुँदै जिल्लाको कार्यसमितिमा रहेर समेत काम गरिसक्नु भएको छ । अब कर्मठ निष्ठावान नेता आवश्यक रहेको बताउँदै एक व्यक्ति एक पद अवधारणा अनुसार पार्टीलाई अघि बढाउनुपर्ने उहांँको भनाई छ । आफूसँगको त्यो क्षेत्रको क्षेत्रीय सभापतिमा ४ बर्षको अनुभव रहेको भन्दै १४ औं महाधिवेशनमा पनि हरेक कार्यकर्ताले आफूलाईनै रोजेको दाबी गर्नुभयो ।
काँग्रेस पार्टी भएकै कारण पञ्चायतकालमा द्धन्द्ध काल र राजाले कु गर्दा पटक पटक राज्य पक्षले आफ्नो परिवारलाई दुःख दिएको उहाँले स्मरण गर्नुभयो । ‘कांँग्रेस भएकै कारण मेरो भाई र छोराले सेनाको जागिर छोड्नु पर्यो उहाँले भन्नुभयो, म द्धन्द्धकालमा लखेटिएर डेढ महिना भारत भूमिगत हुनु पर्यो ।’ आफ्नो सबै दाजुभाई, परिवार सबै काँग्रेस पार्टीमै सक्रिय हुँदै आएको बताउँदै उहाँले पार्टीमा सक्षम योग्य नेताले काम गर्न अवसर पाउनुपर्ने बताउनु भयो । चितवनका शिर्षस्थ नेता टेक प्रसाद गुरुङ्ग, रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, कृष्णलाल सापकोटा लगायतका नेताहरसँगै आफूले जिल्लामा राजनीति गर्दै आएको कारण आफूले क्षेत्रीय सभापतिको दाबी गर्ने हैसियत राख्ने उहाँको दावी छ ।
गोर्खाबाट २०१६ सालमा चितवन झर्नु भएका दवाडीका हजुरबुबा , बुबा एवं पछिल्लो पुस्तापनि पनि काँग्रेसको जिल्लास्तरीय विभिन्न तहको जिम्मेवारी निभाउँदै आउनु भएको छ ।