काठमाडौं । कप्तान मोहमुदुल्लाहको अविजित ३७ रनप्रेरित बंगलादेशले शुक्रबार न्युजिल्यान्डविरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा चार रनको रोमाञ्चक विजय हासिल गरेको छ ।
मिरपुरस्थित शेरे बंगला नेसनल रंगशालामा बंगलादेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । बंगलादेशले ६ विकेट गुमाएर १४१ रन बनाएको थियो । १४२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३७ रनमात्र बनाउन सक्यो ।
पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा बंगलादेशले २–० को अग्रता लिएको छ ।
न्युजिल्यान्डका रचिन रविन्द्रले तीन विकेट लिँदा अजिज पटेल, कोले म्याककोन्ची र हमिश बेन्नेटको नाममा एक एक विकेट रह्यो ।
न्युजिल्यान्डका कप्तान टम लाथमले अविजित ६५ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । विल योङले २२, म्याककोन्चीले अविजित १५ र रविन्द्रले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
बंगलादेशका मेहदी हसन र साकिबले समान दुई विकेट लिए । नासुम अहमदले एक विकेट लिए ।