कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका छन् । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ ।
गत जेठ महीनामा गरिएका गणनामा बाघको संख्या वृद्धि भएकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनलले शुक्रवार आयोजित कार्यक्रममा बाघको संख्या वृद्धि भएको जानकारी दिए । उनले स्वचालित क्यामेरा विधिबाट बाघ गणना गरिएको बताए । ‘जेठ ४ देखि २३ गतेसम्म गरिएको गणनामा बाघको संख्या वृद्धि हुनुका साथै थप वृद्धि हुने आशा पलाएको छ ।’ उनले भने, ‘यो संख्या घटेको पनि होइन, धेरै बढेको नभए पनि सुधारको लक्षण देखियो ।’
उनले निकुञ्जमा ११ पोथी, छ भाले, लिंग पहिचान नभएको एक र वस्यक पाटेबाघ रहेको जानकारी दिए । ३०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघ गणनाका लागि ८९ क्यामेरा जडान गरिएको थियो । गणनामा निकुञ्ज, प्रकृति संरक्षण कोष शुक्लाफाँटा र नेपाली सेनाको देवीदल गणको संयुक्त टोली परिचालन गरिएको थियो ।
‘गणना अघि खटिने ३३ जना कर्मचारीलाई तालिमसमेत दिइएको थियो ।” प्रमुख संरक्षण अधिकृत पुनले भने, ‘गणनामा आर्थिक र प्राविधिक सहयोग जेडएसएल नामक संस्थाले गर्यो ।’ शुक्लाफाँटामा बाघका लागि आहार प्रजातिको सहज उपलब्धता हुनु, चोरी शिकारी नियन्त्रणलगायतका कारणले वृद्धि भएको हो ।
त्यसैगरी प्रकृति संरक्षण कोष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लक्ष्मीराज जोशीले चारैतिर मानव बस्ती र नेपाल–भारत सिमानासित समेत जोडिएकाले बाघ संरक्षणमा चुनौती रहेको बताए । सन् २०१० मा सरकारले मुलुकमा बाघको संख्या २५० पुर्याउने लक्ष्य लिएको बताउँदै उनले हाल २३५ को हाराहारीमा बाघ पुगिसकेको जानकारी दिए ।
विसं २०२६ मा शाही शिकार आरक्ष रहेको शुक्लाफाँटा २०७३ फागुनमा सरकारले राष्ट्रिय निकुञ्जका रुपमा विकास गरेको थियो । निकुञ्जमा गत आर्थिक वर्षमा चोरी शिकारी र वन पैदावारतर्फ गरी ४१ ओटा मुद्दा दायर भएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । जसमध्ये ३२ ओटा मुद्दा फर्छ्यौट भइसकेका छन् ।
प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले यहाँ दरबन्दीसहितको वन्यजन्तु उद्धार केन्द्रको आवश्यकता रहेको बताए । ‘बाघका लागि शुक्लाफाँटा उत्कृष्ट वासस्थानका रुपमा रहेको छ ।’ उनले भने, ‘कुनै बेला यो एसियाकै सबैभन्दा बढी बाघको घनत्व भएको क्षेत्रको रुपमा परिचित थियो ।’ रासस