चितवन । भरतपुर १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल र पुष्पाञ्जली हस्पिटलबीच सम्झौता भएको छ । स्कुल र हस्पिटलबीच उपचार सेवा छुटको बिषयमा सम्झौता भएको हो ।
सम्झौता अनुसार अस्पतालले स्कुलका शेयर सदस्य, सञ्चालक समिति, शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी र परिवारका सदस्यलाई उपचारमा २५ प्रतिशत छुट दिनेछ । उपचारसँगै विभिन्न परीक्षणमा पनि अस्पतालले छुट दिनेछ ।
यस्तै हस्पिटलले औषधीमा ७ प्रतिशत तथा शल्यक्रिया, सिटीस्क्यान र क्याबिनमा १० प्रतिशत छुट दिनेछ । स्कुलले आयोजना गर्ने स्वास्थ्य शिविर, स्वास्थ्य शिक्षा सचेतना वा अन्य कुनै पनि स्वास्थ्य सम्बन्धित कार्यक्रम गर्दा हस्पिटलले आवश्यक सहयोग गर्ने पनि सम्झौतामा उल्लेख छ ।
सम्झौता पत्रमा हस्पिटलका तर्फबाट अध्यक्ष चेतनाथ वाग्ले र अस्पतालका निर्देशक सुजन अधिकारी तथा स्कुलको तर्फबाट प्राचार्य इन्दिरा पन्त कार्की र सह प्राचार्य उपेन्द्र आचार्यले हस्ताक्षर गरेका छन । हस्पिटलका अध्यक्ष वाग्लेले सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रीनल्याण्डसँग सहकार्य र सम्झौता गरिएको बताए । यो सम्झौताले विद्यालय परिवारलाई धेरै सुविधा उपलब्ध गराउने स्कुलकी प्राचार्य कार्कीको भनाइ थियो ।
सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रममा हस्पिटलका सामाजिक सेवा इकाई प्रमुख केदारप्रसाद सुवेदी, वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी, स्कुलका शिक्षक कृष्ण कार्कीलगायतको पनि उपस्थिति रहेको थियो ।