चितवन । नारायणगढको क्याम्पा चौरमा जारी ‘मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्टिबल’मा हिजो (आइतबार) ‘पूर्णराई एण्ड दाजुभाईहरु’ र ‘परिवर्तन’ व्याण्डले प्रस्तुती दिए । ‘म्युजिक’, ‘फुड’ र ‘फन’को साथमा नयाँ वर्ष २०८२ साललाई स्वागत गर्न क्याम्पा चौरमा दर्शकको भीड लागेको थियो । दर्शकलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो ।
हिजोको कन्सर्टमा करिब सात हजार दर्शकको सहभागीता रहेको एक्स्पो आयोजक नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका पूर्व अध्यक्ष निरञ्जन न्यौपानेले जानकारी दिए । नयाँ वर्षलाई लक्षित गरी हिजो साँझ ८ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको थियो । साँझ ८ बजेपछि ३०० रुपैयाँको टिकट लागु गरिएको उनले बताए । चैत २९ गतेदेखि सुरु भएको एक्स्पो भोलि (मंगलबार) सकिँदै छ ।
एक्स्पो एण्ड फुड फेस्टिबलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नेपाली वस्तु तथा सेवाको प्रदर्शनी हुन्छ । साँझ ६ बजेदेखि मौलिक खाना खाँदै कन्सर्टमा रमाउन सकिन्छ । आजको कन्सर्टमा ‘स्वर’ व्याण्ड आउने नेपाली युवा उद्यमी मञ्च चितवन च्याप्टरका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए ।
नयाँ वर्षको पहिलो दिन आज पनि दर्शकको उल्लेख्य सहभागीता रहने अपेक्षा गरिएको उनले बताए ।
कन्सर्टमा भोलि (वैशाख २ गते) उदय र झक्कासको विशेष प्रस्तुति रहने नेपाली युवा उद्यमी मञ्च चितवनका पूर्व अध्यक्ष सूर्यभक्त अधिकारीले बताए । फुड फेस्टिबलमा थकाली, थारु, तामाङ, नेवारी, तराई र अन्य परिकारहरुको स्वादको विविधता पाइनेछ जसमा अर्गानिक उत्पादन, लाइभ कुकिङ डेमो, फुड आर्ट डिस्पले र फोटो फ्रेन्ड्ली डिजाइन क्षेत्रहरु समावेश हुनेछन् ।
एक्स्पोमा कृषि, निर्माण सामग्री, प्रविधि, हस्तकला, परम्परागत कपडा, फुड एण्ड बेभरेज, ग्रीन इन्डष्ट्री, रियल स्टेट, टेक्नोलोजी तथा इनोभेसनलगायत विभिन्न क्षेत्रमा क्रियाशील व्यवसायीहरु सहभागी रहेको उनले बताए । नेपाली वस्तु तथा सेवाको प्रवद्र्धन, उत्पादन बृद्धि र रोजगारी सिर्जनामा एक्स्पोले महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे ।