चितवन । चितवन फेशन रन वे विथ म्युजिकल फेस्टको तेस्रो संस्करण चैत ३ गते हुने भएको छ । आज डल्ले रेष्ट्रो बिशालचोकमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजक दि राईज ईभेन्ट्सले कार्यक्रम बारे जानकारी दिएको हो ।
यस अघिका दुई संस्करणमा रवे मात्रै गरिएकोमा यस पटक म्युजिकल फेस्ट पनि थप गरिएको दि राईज ईभेन्ट्सका सिईओ सलिन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कार्यक्रम सिएमटी रिसोर्ट हाकिमचोकमा हुनेछ ।
यस पटक अघिल्ला संस्करण भन्दा फरक र वृहत गर्ने तयारी रहेको उनको भनाइ थियो । रन वेमा २५ मोडलहरु रहनेछन् । जसमा १५ महिला र १० पुरुष मोडलहरु रहनेछन् । अहिले ईच्छुक मोडलहरुको नाम दर्ता गर्ने क्रम चलिरहेको श्रेष्ठले बताए । फागुन १५ गते उनीहरुको अडिसन हुनेछ । अडिसनबाट छनौट भएका मोडलहरुलाई फागुन १८ गते अभिमुखीकरण गरिनेछ । फागुन २० गतेबाट तालिम सुरु हुने श्रेष्ठले बताए ।
तालिममा वाकसँगै व्यक्तित्व विकास, क्यामेरा फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित प्रशिक्षण दिईने कोरियोग्राफर समेत रहेका श्रेष्ठले जानकारी दिए । यस्तै उनीहरुलाई डिजिटल मार्केटिङ सम्बन्धी प्रशिक्षण पनि दिने तयारी छ । यसले मोडलिङमा सक्रिय चितवनका मोडलहरुलाई यही क्षेत्रमा स्थापित गर्न मद्त मिल्ने श्रेष्ठको भनाइ छ । यसले उनीहरुका लागि नयाँ अवसरका बाटो खुलाउन सहयोग पुग्ने उनले बताए ।
रन वेसँगै कट्टभ र ट्रिएङल डुओ ब्याण्डको सांगितिक प्रस्तुति पनि रहनेछ । यस्तै अन्य स्थानीय कलाकारको प्रस्तुति पनि रहने आयोजकले जनाएको छ । रन वे र सांगितिक कार्यक्रमसँगै एनिमे कन पनि रहनेछ । यसका लागि एनिमे कन चितवनसँग सहकार्य गरिएको छ । कार्यक्रमस्थलमा व्यवसायीक स्टलहरु पनि रहनेछन् । यसका लागि स्टल बुकिङ भईरहेको छ ।
यस्तै कार्यक्रममा आउने दर्शकहरुलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । लामो समयदेखि यस क्षेत्रबाट संगालेको अनुभवले यस कार्यक्रमलाई उत्कृष्ट बनाउने प्रयास रहेको श्रेष्ठको भनाइ छ । कार्यक्रमको मुख्य प्रायोजकमा ओमोडा र जेईका रहेका छन् । कार्यक्रमको तयारी तिव्र गतिमा भइरहेको आयोजकले जनाएको छ ।