चितवन । देवघाटमा माघे संक्रान्तिको दिन लाग्ने मेलामा भन्दा आज अहिलेसम्मकै बढी भक्तजनको भीड भएको छ । माघे संक्रान्तीमा पाँच लाख भन्दा बढि भक्तजन देवघाट आउने गरेको भएपनि आज उक्त दिनभन्दा बढी भक्तजनले दर्शन गरेका छन ।े
माघे संक्रान्ति मेलालाई बिर्साउने गरि त्यो भन्दा बढि अन्य दिनमा मानव सागर उर्लेको देखियो । माघे औंशी दिन विशेषगरि पितृको सम्मानमा स्नान गर्ने परम्परा छ । उक्त दिन त्रेतायुग सकिएर द्वापर युगको सुरुवात भएको पनि मानिन्छ । उक्त दिन माघे संक्रान्ति दिन भन्दा धेरै भक्तजन देवघाट आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ ।
माघे औंशीको दिन जति भक्तजन आउँछन् भन्ने आंकलन थियो त्यो भन्दा पनि धेरै भक्तजन आएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए । देवघाट प्रवेश पर्ने आपँटारी, रामनगर, ठिमुरा र दासढुङ्गाबाट हजारौं सवारी साधनमा लाखौं भक्तजन देवघाट आएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।
आंकलन भन्दा धेरै भक्तजन आएपछि व्यवस्थापन गर्न समस्या भएको बरालले बताए । देवघाटका सबै खाली ठाउँ सवारी साधनले भरिएको उनले बताए । सुरक्षाको व्यवस्थापन प्रभावकारी भएपनि भक्तजनको भिड हुँदा व्यवस्थापन गर्न समस्या भएको उनले बताए । बुधबारको भिड देवघाटमा आजसम्मकै पहिलो भएको उनले दाबी गरे । देवघाट प्रवेश गर्ने त्रिशुलीको झोलुङ्गे पुल तर्न घन्टौं लाम लाग्नु पर्ने अवस्था भएको थियो । पुल वरपर खुट्टा राख्ने ठाउँसम्म पनि नभएको स्थानीय बासिन्दाले बताए ।