चितवन । भरतपुर महानगरपालिका–२, नारायणगढमा रहेको बालकुमारी माविका पूर्वविद्यार्थीहरूको संगठन बालमाविद् अलम्नाइ एसोसिएसनको दसौँ अधिवेशन बिहीबार सम्पन्न भएको छ ।
अधिवेशनले एसएलसी ब्याच २०३८ का वामदेव शर्माको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्समितिको उपाध्यक्षमा सनदकुमार पिया, सचिवमा सूर्यप्रकाश कँडेल, कोषाध्यक्षमा रमेश श्रेष्ठ, सदस्यमा शेषमणि भट्टराई, भरतकुमार श्रेष्ठ र दिलमाया पोखरेल रहेका छन् ।
कार्यसमितिको सबै पदमा एकएक जनाको मात्रै उम्मेदवारी परेकोले नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन भएको निर्वाचन समितिका संयोजक भरतकुमार श्रेष्ठले जानकारी दिए ।
बालमाविद् अलम्नाइ एसोसिएसनका अध्यक्ष सेवन पन्तले शुक्रबार दिउँसो चार बजे दियालो फुडल्याण्ड क्षेत्रपुरमा एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण गरिने बताए । पद हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि बालकुमारी माविका पूर्वअध्यक्ष कृष्णराज हमाल रहने अध्यक्ष पन्तले जानकारी दिए ।
अधिवेशनमा बालकुमारी माविका प्रधानाध्यापक आनन्दराज सापकोटा, पूर्वप्रधानाध्यापक शरदरञ्जन श्रेष्ठ, शिक्षक नारद परिहस्त, अलम्नाइका पूर्वअध्यक्ष आश्विन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।