चितवन । १५ औं संस्करणको चितवन महोत्सव २०८१ मा सहभागीहरुको घुइँचो बढ्दै गएको छ ।
महोत्सव सुरु भएको तीन दिनमा करिब १ लाखले अवलोकन गरेको उद्योग वाणिज्य संघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले जानकारी दिए । उद्घाटन अघि र्यालाीमा सहभागि भएका, त्यसैगरी उद्घाटन कार्यक्रममा सहभागि भएका, उद्घाटनका दिनभर सहभागि भएका, महोत्सवको दोश्रो र तेश्रो दिन सहभागिता जनाएकाहरुलाई जोड्दा करिब १ लाखले अवलोकन गरेको तथ्यांक निकालिएको सुवेदीले बताए ।
आज तेश्रो दिन शनिबार महोत्सव परिसर नारायणी नदी किनार भरिभराउ भएको थियो । महोत्सवमा उल्लासमय सहभागिता देख्न सकिन्थ्यो । पैदल यात्रा गर्ने ठाउँमा कार्पेट बिछ्याएर निकै आकर्षक पारिएको चितवन महोत्सव परिसर धुलोरहित बनेको छ ।
उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारमा जारी महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवको टिकट शुल्क सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । रासस