देशभरीनै सामाजिक संघसंस्थाहरुमा राजनीतिक दलहरुको प्रभाव र दलीय प्रतिनिधित्व बढ्दो छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर १२ ले भने सामाजिक संघसंस्थाहरुमा हुने राजनीतिक हस्तक्षेपलाई गलत अभ्यास र विकृति भएको भन्दै त्यसो नगर्न र नगराउन अपील गरेको छ।
भरतपुर १२ मा रहेको रामबेल सामुदायिक बनमा राजनितिक हिसाबबाट भागवण्डा गरेर नयाँ कार्यसमिति चयन हुन लागेपछि पार्टीका सभापति दीपक राज सेढाईंले सभामा विज्ञप्ति हस्तान्तरण गर्दै पार्टीको स्पष्ट धारणा प्रस्तुत गरेका हुन । विज्ञप्तिमा भनिएको छ सामाजिक संघ–संस्थाहरूलाई राजनीतिक दलको दबाबभन्दा बाहिर रहनुपर्छ, ताकि ती संस्थाहरू निष्पक्ष रूपमा समुदायको प्रतिनिधित्व गर्न सकून्।
सामाजिक संस्था रुपी मन्दिरमा राजनीतिक पार्टीको चप्पल बाहिरै राख्नुपर्छ । यद्धपी पार्टीका सदस्यहरूले व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्दै यस्ता संस्थाहरूमा सहभागी हुन पाउने समेत स्पष्ट पारिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक र सार्वजनिक संस्थाहरूको संरक्षण र उचित व्यवस्थापनका लागि सधैं तत्पर रहेको भन्दै विज्ञप्तीमा पार्टीले यस कदमलाई समाजमा फरक र सकारात्मक राजनीतिक अभ्यासको थालनीको रूपमा लिएको छ।
रास्वपा चितवनका सचिव विशाल कोइराला आफ्नो पार्टीले कुनै पनि सामाजिक , सार्वजनिक र सामुदायिक संघ संस्थाहरु र त्यस्ता समितिहरुमा राजनितिक दलको हिसाबले प्रतिनिधित्व नगर्ने विद्यानमानै व्यवस्था भएको बताउँछन् । यस्ता पवित्र ठाउँमा दलको प्रतिनिधित्व हुुदाँ विकृति आउँछ । वडा पार्टीको विज्ञप्ती सोही अनुसार आएको समेत उनले बताए ।