चितवन । रियल स्टेट कम्पनी सिटी हाउजिङ्ग ग्रुपद्धारा सञ्चालित सुख भिल्लाजले चितवनमा बुकिङ्ग शुरु गरेको छ । भरतपुर–९, स्थित ५२ कठ्ठा क्षेत्रफलमा सूविधा सम्पन्न ७२ वटा घर बनाउन शुरु गर्ने भएको हो । भिल्लाजले यस अघि काठमाडौंको वाफल, सानो भर्याङ्ग , पर्सा जिल्लाको विरगञ्जमा आफ्नो सेवा विस्तार गरिसकेको छ । भिल्लाजले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भवनहरूको बुकिङ खुला गरिएको जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै भिल्लाजका संचालक सदस्य सौरभ तिमिल्सिनाले भरतपुरको भवन बुकिङमा छुट योजना ल्याइएको बताए । उनले भने, ‘कम्पनीले १० धुरमा निर्माण गरिने २६९५ वर्गफुटको अढाई तले एउटा भिल्लाको मूल्य दुई करोड ६५ लाख रूपैयाँ राखेको छ । अहिले बुकङ गर्नेहरूलाई ४० लाख छुट दिइने छ । र ७० वटा भिल्ला बनाउँदै छौँ ।’
सुख भिल्लाजले सरल भुक्तानी योजना समेत ल्याएको छ । जस अनुसार बुकिङ गर्दा ५, सम्झौता गर्दा १५, डिपिसी गरेपछि १०, भुइँ तला स्लाबपछि १०, दोस्रो तला स्लाबपछि १५, प्लास्टरपछि १०, रङरोगनपछि १०, फिनिसिङपछि १०, भवन हस्तान्तरणपछि १० र परियोजना हस्तान्तरणपछि ५ प्रतिशत भुक्तानी गर्नुपर्नेछ । बुकिङ गरेको दुई वर्षमा भवन हस्तान्तरण गरिने र अढाई वर्षमा परियोजना हस्तान्तरण हुने बताइएको छ ।
भरतपुर देशकै केन्द्रमा रहेको र प्रशस्त विकासका पूर्वाधार भएकोले यो परियोजना शुरु गरिएको तिमिल्सिनाको भनाई छ । ’चितवन काठमाडौं पछिकै सडक, अस्पताल , व्यवसाय, कृषि क्षेत्र सबैमा फड्को मारेको जिल्ला भएको पायौं, तिमिल्सिनाले भने, यसमा हाम्रा ग्र्राहकको माग र रोजाई पनि भरतपुरनै रह्यो र हामी यो परियोजनामा सफल हुन्छ भन्ने विश्वास पनि भयो ।’ बिशेषगरी डाक्टर, इन्जिनियर , व्यवसायी तथा विदेशमा रहने ग्राहकलाई लक्षित गरि भिल्लाजको परियोजना शुरु गरिएको उनले बताए ।
भरतपुरमा निर्माण गरिने भिल्लाहरूमा प्रशस्त इन्टेरियर स्पेस रहने एवं सामुदायिक प्रयोग क्षेत्रमा हरियाली बगैँचा, खेल क्षेत्र, स्विमिङ पुल, जिम हल, मन्दिर, सेमिनार हल रहने संचालक तिमिल्सिनाले जानकारी दिए । भरतपुर पछि देशका अन्य शहरहरुमा पनि भिल्लाज र अपार्टमेन्ट बनाउने तयारी रहेको कम्पनीले जनाएको छ ।