काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निष्ठा, आर्दश र नैतिकतालाई जोगाउँदै लोकतन्त्र, संविधानको संरक्षण गर्ने मुलुकले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने बताउनुभएको छ ।
आइतवार राष्ट्रपति भवन शीतल निवासमा आत्रेय गोत्रिय ढॅाडे पौडेल कुल पूजा समितिले रिस्तीले गरेको अभिनन्दनपछि राष्ट्रपति पौडेलले सो कुरा बताउनुभएको हो ।
उहाँले आफूले पदभन्दा निष्ठा, आर्दश र नैतिकतालाई सँधै ठूलो ठानेको र आफ्नो राजनीतिक जीवनमा प्रश्न उठ्ने कुनै पनि काम नगरेको स्पष्ट पार्दै यसैलाई अक्षुण्ण राख्न सकियोस भन्नेमा दृढ़ रहेको पनि बताउनुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो–‘मलाई पदभन्दा पनि ठूलो निष्ठा आर्दश र नैतिकता लाग्छ । लामो राजनीतिक जीवनकालमा कुलको इज्जत जोगाएर राखेको छु । खोट लगाउने कुनै काम गरेको छैन् र गर्नेपनि छैन् ।’
राष्ट्रपति पौडेलले मुलुक संकटमा परेको समयमा लोकतन्त्र र संविधानको संरक्षण राष्ट्रिय एकताको प्रर्वद्धन र राष्ट्रहितमा सधै काम गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–‘मलाई मुलुकले दिएको अभिभावकिय जिम्मेवारी पूरा गर्न कुनै कसुर बाँकी राख्ने छैन् । जीवनभर निष्ठा आर्दश र नैतिकता जोगाएर कुलको मात्र नभई नेपाली कै इज्जत राख्नेछु ।’