चितवन । अन्तर्राष्ट्रिय उद्यमी मेला (ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प)मा भाग लिन कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीका पाँच सदस्यीय टोली फ्रान्स प्रस्थान गरेका छन।
भरतपुर– ७ स्थित एकेडेमीका चार जना विद्यार्थी तथा एक शिक्षक प्रतिनिधिकोे समूह शुक्रबार काठमाडौँ प्रस्थान गरेको हो ।
बुटक्याम्पमा भाग लिन विद्यार्थीबाट प्राप्त आवेदनमध्ये चार जनाको मात्र आवेदन स्वीकृत भई भिजा लागेको विद्यालयका प्राचार्य सुमन पौडेलले जानकारी दिए ।
विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलको नेतृत्वमा रहेको उक्त टोलीमा कक्षा ११ र १२ का विद्यार्थीहरुले भाग लिँदैछन् । कार्यक्रममा उद्यमीहरु, विद्यार्थीहरु र विभिन्न पेसामा आवद्ध व्यक्तिहरु विश्वभरबाट अवलोकन एवं सिकाइका लागि सहभागी हुनेछन् ।
११औँ संस्करणको ग्लोबल अन्टरप्रेन्योरसिप बुटक्याम्प कात्तिक ५ गतेदेखि ८ गतेसम्म फ्रान्सको राजधानी पेरिसस्थित सोरवन युनिभर्सिटीमा आयोजना हुनेछ । यो उद्यमी मेलामा विश्वभरका आकांक्षी उद्यमीहरु र भविष्यमा उद्यम अपनाउने सोच भएका युवाहरुले आफ्नो व्यापारिक नवीन विचारहरु विकास गर्न र मूल्यवान सीप सिक्न तथा सफल व्यवसायका लागि ‘आइडिया मास्टर’हरुका विचार ग्रहण गर्नका लागि यसको प्रारुप तयार पारिएको हो ।
यसबाहेक, विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत फ्रान्सको पेरिसलगायत स्वीट्जरल्यान्डको जेनेभा र ज्यूरिक तथा जर्मनीको म्युनिखमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको निर्देशक पौडेलले जानकारी दिए ।
यसअघि भएको १०औँ संस्करण युएईको दुबईमा सम्पन्न भएको थियो । सो कार्यक्रममा समेत अङ्कुरम् एकेडेमीका तीन जना विद्यार्थी र एक जना प्राध्यापकले आफ्नो प्रस्तुति पेश गरेका थिए ।