काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा ओमान र अमेरिकाविरुद्ध हुने त्रिदेशीय शृङ्खला खेल्नका लागि ओमान पुगेका खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । २४ घण्टाको क्वारिन्टिनपछि खेलाडी र अफिसियलहरूको कारोना परीक्षण गरिएको थियो । जसमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।
ओमानमा नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खला खेल्नुअघि पपुवा न्युगिनीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । त्यसका लागि १७ खेलाडीसहित २२ सदस्यीय नेपाली टिम ओमान छ ।
नेपालले भदौ २८ देखि असोज ४ गतेसम्म आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ । त्यसअघि नेपालले भदौ २० र २३ गते पपुवा न्युगिनीविरुद्ध दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । पीएनजीसँग नेपालले दोस्रो खेल दिवारात्री खेल्नेछ ।
आईसीसी विश्व क्रिकेट लिग–२ मा नेपालले घरेलु मैदानमा ओमान र अमेरिकाविरुद्ध चार खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुवै खेल हारेको थियो । चार खेलबाट चार अङ्क जोडेको नेपाल अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
१० खेलबाट १६ अङ्क जोडेको ओमान शीर्ष स्थानमा छ । १२ खेलबाट १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा छ । स्कटल्यान्ड तेस्रो, नामिविया चौथो र युनाइटेड अरब इमिरेट्स पाँचौँ स्थानमा छ । आठ खेलमा अङ्कविहीन पीएनजी सातौँ स्थानमा छ ।