चितवन । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले आफ्नो मन्त्रालयले देखिने गरी काम गर्ने बताउनुभएको छ । शनिबार जिल्लाको कालिका नगरपालिका ८ गैरीबारीचोकमा रहेको उदयपुर सामुदायिक वन उपभोक्ता समितिको परिसरमा भएको वृक्षारोपण कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोन्धन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोन्धनकै क्रममा उहाँले वृक्षारोपण गर्नु भन्दा पनि लगाईएको बिरुवा संरक्षण गरेर हुर्काउनु ठुलो कुरा भएको बताउनुभयो । ‘हामी बर्षेनी लाखौ बिरुवा रोपेर वृक्षारोपण गर्छौ तर त्यसको उचित संरक्षण गर्न नसक्दा नतिजा शुन्य हुन्छ’ –उहाँले भन्नुभयो ‘अब हामी कति बिरुवा रोप्यौ भनेर गणना गर्ने हैन नतिजामा कति बिरुवा हुर्काउन सक्यौ भनेर काम गर्छौ ।’
लगाईएको बिरुवाको संरक्षण गरेर हुर्काउन सकेमात्र कामको परिणाम देखिने भएकोले बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयले अब वृक्षारोपण सफल परिणाम आउने गरी काम गर्ने उहाँले बताउनुभयो । साथै उहाँले वृक्षारोपण गरिएपछि त्यसलाई संरक्षण गरी हुर्काउन बढाउन मन्त्रालयले आवश्यक रकमको जोहो गर्न तयार रहेको बताउनुभयो ।
नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघको जिल्ला कमिटि चितवनको आयोजनामा ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत उक्त वृक्षारोपण कार्यक्रम भएको हो । कार्यक्रम अन्तर्गत सो स्थानमा करिब १ हजार बिरुवा रोपिएको युवा संघ चितवनका अध्यक्ष झलकराज भट्टले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मी, उपप्रमुख बिमला तामाङ लगायत नेकपा एमाले र युवा संघका विभिन्न कमिटिका सदस्य, पदाधिकारीहरुको सहभागिता रहेको थियो ।