चितवन । चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य आजका लागि स्थगित भएको छ । बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि साँझसम्म नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको हो । खोजी कार्यमा गाडीको पर्दा र अन्दाजी १० बर्षको बच्चाको सुरुवाल भेटिएको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादबले जानकारी दिनुभयो । ‘हुक लगाएर खोज्ने क्रममा एन्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा अन्दाजी १० बर्षको ट्राउजर निकालिएको छ ।’ प्रजिअले भन्नुभयो ।
अब भोलि बिहानबाट मात्रै बेपत्ता बस र यात्रु खोज्न सुरु गरिनेछ । उहाँले आज दिनभर खोजतलास गर्दा पनि बस फेला पार्न नसकिएको बताउनुभयो ।
नदीमा पानीको बहाव घटेको छैन । रातिको समयमा भएकाले जोखिम पनि हुने भयो’, उहाँले भन्नुभयो, घटनास्थलबाट ३, ४ किलोमिटर तलसम्म खोज्दा पनि भेटिएन ।’ उहाँले नदीमा पानीको बहाब उच्च र धमिलो भएका कारण खोजीकार्यमा समस्या भएको बताउनुभयो ।
त्रिशुलीमा हराएका बस खोज्न सशस्त्रका ४ वटा, नेपाल प्रहरीको एउटा गरी ५ मोटरबोट, गोताखोर टोली लगायत प्रयोग गरिएको थियो । भरतपुर महानगरपालिका–२९ सिमलतालमा आज बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशुलीमा बगाएको थियो ।