चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गएको पहिरोमा परी बेपत्ता भएका दुवै बसको अवस्था अझै अज्ञात रहेको छ । त्रिशूली नदीको उच्च बहाब र गहिराइका कारण बस खोजीमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । आज मौसम प्रतिकुलताको कारण बेलुका सांँढे ६ बजेबाट खोजीकार्य स्थगित गरिएको छ ।
बेपत्ता बसको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली र गोताखोर को टोली समेत परिचालन गरिएको छ । पांँचवटा मोटरबोट सहित घटनास्थलबाट पांँच किलोमिटरसम्म खोजी कार्य गरिएको प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । उहांँका अनुसार भोलि बिहान पुन खोजी कार्य जारी रहनेछ । हालसम्म वसको टिकटको आधारमा ५४ जनाको संख्यामा यात्रु वेपत्ता भएको उहांँले जानकारी दिनुभयो । दुबै बसको यात्रु संख्या र उनीहरुको आफन्तको आधारमा ती मध्ये ८ जना यात्रु भारतीय रहेको उहांँले बताउनु भयो ।
सिमलतालको पहिरोमा परी वीरगन्जबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौर जाँदै गरेको गणपति लेखिएको वाग्मती प्रदेश ०३–०११ ख २४९५ बेपत्ता भएको थियो ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ ।
पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । त्यसकारणले चुम्बक फालेर बसको खोजी सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसैगरी हुक लगाएर पनि खोजी भइरहेको छ । लामा–लामा बाँसका भाटा तथा रडको सहायताले पनि खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।