चितवन । जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था लिड एक्स नेपालको सहयोगमा आरम्भ कलेजमा स्थापना गरिएको ‘आरम्भ इन्नोभेसन हब’ को एक समारोहबिच उद्घाटन गरिएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफ सन्तोष शाह र आइडिया स्टुडियोका सहसंस्थापक डा. छिरिङ लामाले आइतबार इन्नोभेसन हबको उद्घाटन गरेका हुन् ।
लिड एक्स नेपालले युवाहरुलाई अन्तर्राष्ट्रिय स्तरमा उद्यमशीलताको अवसरहरु खोज्न सिकाउने र सघाउने काम गर्दै आएको छ । यसले व्यक्तित्व विकास र पेशागत क्षमताको अभिवृद्धिमा समेत सहायता गर्ने गरेको छ । फोर्थ भ्याली कन्सियर्सले अन्तर्राष्ट्रिय स्तरमा प्रविधिको पहुँच र व्यक्तिगत पहुँचमा सहयोग गर्छ । यसको अन्तर्राष्ट्रिय सञ्जाल १ सय ८६ देशमा फैलिएको छ । सोचदेखि उद्योगसम्म भन्ने नारा बोकेको आइडिया स्टुडियोले नीति, ज्ञान र अभयासमा सहयोग गर्दै आएको छ ।
आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले माथि उल्लेखित कम्पनीहरुसँगकोे सहकार्यमा आरम्भ इन्नोभेसन हबमा विद्यार्थीहरुको नवीन सोचलाई आकार दिने काम हुने बताए । ‘इन्नोभेसन हबले स्टार्टअप कल्चर, उद्यमशीलताको विकास र विदार्थीहरुको व्यक्तिगत विकासमा सहयोग गर्छ’ शिवाकोटीले भने, ‘एक वर्षभित्रमा पहिलो वर्ष १०, दोस्रो वर्ष २०, तेस्रो वर्ष ३० र चौथो वर्ष ५० जना विद्यार्थीले आफ्नै व्यवसायको विकास, कम्पनीको विकास गरी त्यसको प्रमुख भएर काम गर्ने वातावरण बनाउने उद्देश्य लिएका छौं ।’