दमौली (तनहुँ) । तनहुँको व्यास नगरपालिका-२ बागबजारका सुदीप गफ्फारको पहिचान फेरिँदै छ । उहाँ अचेल कहिले खोलामा फोहर टिप्ने अभियान सञ्चालन गर्नुहुन्छ त कहिले सामाजिक सुरक्षा भत्ता लिन जाने ज्येष्ठ नागरिकको सहजताका लागि सवारी साधन उपलब्ध गराउनुहुन्छ ।
सार्वजनिक, धार्मिक तथा पर्यटकीय क्षेत्रमा थुप्रिएका फोहर व्यवस्थापन गरी स्थानीयस्तरमा परिचित उहाँ हिजोआज जिल्ला प्रशासन कार्यालय तनहुँमा सेवा लिन आउने ज्येष्ठ नागरिकलाई निःशुल्क भोजन गराउने अभियानमा व्यस्त हुनुहुन्छ । राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गर्न बिहान ६ बजेदेखि उक्त कार्यालयमा आउने ज्येष्ठ नागरिक भोकभोकै बस्नुपरेको देखेपछि उहाँले शुक्रबारदेखि निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिरहनुभएको छ । “सामाजिक काममा आफूलाई व्यस्त राख्न पाउँदा निकै आत्मसन्तुष्टि हुन्छ, त्यसैले यस्तै काम गर्ने बानी लागिसक्यो । यहीक्रममा अहिले जिल्ला प्रशासनमा आउने नागरिकलाई निःशुल्क खाना उपलब्ध गराइरहेको छु”, उहाँले भन्नुभयो ।
यहाँ दैनिक चार सयभन्दा बढी सेवाग्राही राष्ट्रिय परिचयपत्रका लागि आउने गरेका छन् । त्यसमध्ये एक सयले मात्रै सेवा पाउँछन् । बिहानैदेखि पोलो कुर्न बस्नुपर्ने र खाना खाने समय नमिल्ने भएकाले गफ्फारले कार्यालय नजिकैको चौतारामा निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा लिन आउनेहरू बिहानैदेखि भोकभोकै बस्नुपरेको रहेछ, त्यसैले शुक्रबारदेखि सेवा लिन आउने सम्पूर्णलाई खाना खुवाउने व्यवस्था मिलाएको छु । यो अभियानअन्तर्गत शुक्रबार ९०, आइतबार तीन सय र सोमबार तीन सय ५० जनाले निःशुल्क खाना खाएका छन्, मङ्गलबाट पनि यो अभियान जारी रह्यो।”
सुरूमा एक्लै अभियानमा लागे पनि अहिले विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले हातेमालो गरेको उहाँले बताउनुभयो । “मलाई देश तथा विदेशमा रहनुभएका शुभचिन्तकले खानाको व्यवस्थापनका लागि आर्थिक सहयोग गरिरहनुभएको छ । प्रशासनमा जबसम्म भीड हुन्छ र यो समस्या रहन्छ, तबसम्म निःशुल्क खाना खुवाइरहने छौँ”, गफ्फार अगाडि भन्नुभयो ।
उहाँले नेपालमा सामाजिक काम गर्ने पवित्र सोच भएकाहरूलाई स्रोतको अभाव नहुने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “काम गर्ने सोच मनभित्रैबाट आउनुपर्छ, कसैलाई देखाउनका लागि मात्र गरिने कामले सन्तुष्ट दिँदैन । यो काम गर्नुपर्छ भनेर लागेपछि पूरा गरेरै छाड्ने बानी छ । यो अभियानमा म एक्लो छैन । देश विदेशबाट सहयोग पाइरहेको छु ।”
गफ्फारले ‘म बदलिए मेरो देश बदलिने छ’ भन्ने मान्यतासहित समाजसेवाका अभियान अगाडि बढाइरहनुभएको छ । सबैभन्दा पहिले आफू बदलिनुपर्छ अनि अरुलाई बदलिनका लागि सहयोग पुग्छ भन्ने सन्देश फैलाउन आफूले समाजसेवालाई रोजेको उहाँको भनाइ छ । गफ्फारले केही समयअघि दमौली बजार क्षेत्रको फोहर व्यवस्थापन नहुँदा चोक–चोकमा गएर छरिएको फोहरमैला एकत्रित गरी सहयोग पु¥याउनुभएको थियो । त्यस्तै उहाँले धार्मिक पर्यटकीयस्थल कालिका, मानुङकोटलगायतका क्षेत्रमा सरसफाइ गर्दै आउनुभएको छ ।
गत वैशाख २९ गते बुल्दीखोलामा र जेठ ५ गते चुँदीखोलामा उहाँकै नेतृत्वमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको थियो । दमौलीस्थित बुल्दीखोला सरसफाइ अभियानका क्रममा सात हजार किलोग्राम फोहर सङ्कलन भएको थियो भने बन्दीपुर र भानुको सिमानास्थित चुँदीखोलामा पाँच हजार किलो फोहर सङ्कलन भएको थियो ।
व्यास नगरपालिकाका पूर्वप्रवक्ता मोहनकुमार श्रेष्ठले गफ्फारले आफूलाई सामाजिक अभियान्ताका रूपमा प्रमाणित गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो,“हिजोका दिनमा एउटा सामान्य युवाको रूपमा परिचित उहाँ अचेल युवा अभियन्ता तथा समाजसेवीका रूपमा आफ्नो पहिचान बनाउँदै हुनुहुन्छ । समाज बदल्ने सोच लिएर अगाडि बोकेका युवालाई हामी सबैले साथ दिनुपर्छ ।”
तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ सभापति सुकनारायण मल्लले पनि सरकारी निकायले गर्नुपर्ने काम एउटा युवाले गर्नु सराहनीय भएको बताउनुभयो । उहाँले धेरैजसो युवा विदेशीएको र घरमा भएका युवासमेत व्यक्तिगत कार्यमा व्यस्त रहेका बेला गफ्फारले समाज परिवर्तन, ज्येष्ठ नागरिकको सेवा र सरसफाइजस्ता अभियान अगाडि बढाइरहेका भन्दै यसबाट अरु युवाले पनि सिक्नुपर्ने सुझाव दिनुभयो । रासस