चितवन । भरतपुर महानगरपालिका वडा नं–२ लाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा बनाउन लागि प्रारम्भिक चरणको प्रक्रिया सुरू भएको छ । यसका लागि वडा कार्यालयमा भएको आम भेलाले वडास्तरीय समितिसमेत गठन गरेको छ ।
वडाध्यक्ष मनोज रानाभाटले वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने प्रक्रिया यसै आर्थिक वर्षबाट सुरू भएको जानकारी दिए । वडाध्यक्ष रानाभाटले भने, ‘वातावरणमैत्री वडा निर्माणका लागि सूचकहरु पूरा गर्न जनप्रतिनिधि, टोल विकास समिति, विद्यालयलगायत सम्पूर्ण संघसंस्था र वडावासी सक्रिय भएर लाग्नेछन् ।’ उनले जतिसक्दो छिटो वडालाई वातावरणमैत्री वडा घोषणा गर्ने समेत बताए ।
वडाध्यक्ष रानाभाटको संयोजकत्वमा वातावरणमैत्री वडास्तरीय समिति गठन भएको छ । कार्यवाहक अध्यक्ष परशुराम पौडेलको अध्यक्षतामा भएको आमभेलाले समिति गठन गरेको हो । समितिको सदस्यहरुमा वडा सदस्यहरु परशुराम पौडेल, बेलपत्र श्रेष्ठ, उर्वशी तोलाङ गोतामे, बलराम सिटौला रहेका छन् । वडा सचिव ओमप्रकाश न्यौपाने समितिको पदेन सदस्य रहेका छन् ।
टोल र विद्यालयबाट केही सदस्य पछि थप्ने गरी समिति गठन गरिएको कार्यवाहक अध्यक्ष पौडेलले बताए । कार्यक्रममा टोल विकास समितिका अध्यक्षहरुले वडाले राम्रो कार्यक्रम ल्याएको भन्दै प्रशंसा गरेका थिए । उनीहरुले वडालाई वातावरणमैत्री बनाउन सकिने, तर केही चुनौतीहरु रहेको बताएका थिए ।
वडा सचिव ओमप्रकाश न्यौपानेले वडा यस कार्यक्रममा सफल हुने बताए । उनले टोल वातावरणमैत्री भएपछि बल्ल वडा वातावरणमैत्री हुन सक्ने बताए ।
सामाजिक संस्था युवा समाज नेपालको सहकार्यमा वडाले वातावरणमैत्री वडा निर्माणका लागि काम थालेको हो । वडास्तरीय भेलाका प्रशिक्षक किशोर खनालले ६० भन्दा बढी सूचक पूरा गरेपछि मात्र वडालाई वातावरणमैत्री वडा घोषणा गर्न सकिने बताएका थिए । युवा समाज नेपालका महासचिवसमेत रहेका खनालले अबको कार्यक्रम टोलस्तरीय हुने बताए ।
कार्यक्रममा वडा सदस्य बलराम सिटौलाले वडालाई छिटोभन्दा छिटो वातावरणमैत्री वडा निर्माण गरिने बताए । बालकुमारी माविका प्राचार्य आनन्दराज सापकोटाले विद्यालयबाट वातावरणमैत्री वडा निर्माणका लागि पूरा सहयोग पुग्ने बताएका थिए । टोल विकास समितिका अध्यक्षहरुले अब हुने टोलस्तरीय कार्यक्रमलाई प्रभावकारी बनाउन सक्रिय भएर लाग्ने प्रतिबद्धता गरेका थिए ।