भरतपुर । बौद्ध धर्म सेवा समिति चितवनले यसवर्षको बुद्ध जयन्ती भव्यताका साथ मनाउने तयारी गरेको छ। जेठ १० गते परेको २५६८औं बुद्ध जयन्ती मनाउनको लागि समितिका अध्यक्ष विकास गुरूङको संयोजकत्वमा बीस सदस्यीय मूल आयोजक समिति तथा १५ वटा उपसमिति गठन गरिएको छ । आज समितिले पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएकोे हो।
पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष एवं बुद्ध जयन्तीका संयोजक गुरुङ्गले यसबर्ष भरतपुर भ्रमणबर्षलाई लक्षित गर्र्दै शान्ति पदयात्रा गरिने बताए। शान्तिपदयात्राले बौद्ध धर्मको प्रचारप्रसारमा टेवा पुग्ने उनको भनाई थियो । ‘एकातिर बुद्ध धर्मको प्रचारप्रसार पनि हुन्छ, अर्कोतिर नयांँ पुस्तालाई पनि प्रेरणा जगाउंँछ । बुद्ध जयन्ती मनाउनु हाम्रो निरन्तरता पनि हो ।’ उनले भने ।
पदयात्रा १० गते बिहान ७ बजे गुम्बाबाट सुरू हुने यात्रा विशालचोक, दीपेन्द्र चोक, वीरेन्द्र क्याम्पस चोक, लायन्सचोक, सहिदचोक, लीलाचोक, रामेश्वर मन्दिरबाट सानो गुम्बा हुँदै महाबौद्ध गुम्बा आएर कार्यक्रम गरिनेछ । कार्यक्रममा जेठ १० गते बिहान ५ बजेदेखि ७ बजेसम्म पुजा अर्चना, १० देखि २ बजेसम्म पदयात्रा , १२ बजेदेखि ३ बजेसम्म खेम्बो श्री किलाया फूर्पाबाट प्रवचन, लगायतका कार्यक्रम गरिने अध्यक्ष गुरुङ्गले जानकारी दिए । सो अवसरमा खुल्ला रक्तदानको पनि आयोजना गरिएको उनले बताए ।
भरतपुर–२, स्थित महाबौद्ध गुम्बा परिसरमा हुने कार्यक्रममा गुरूङ समुदायमा लोपोन्मुख अवस्थामा पुगेको परम्परागत नृत्य घाँटुसमेत प्रदर्शन गरिने आयोजकले जनाएको छ। यसअघिका कार्यक्रममा राजनीतिक व्यत्तित्वबाट कार्यक्रमको उद्धघाटन गरिएपनि यसपटक अध्यात्मिक व्यक्तित्वबाट गरिन लागेको उनको भनाई छ ।
समितिले कार्यक्रमस्थल महाबौद्ध गुम्बा परिसरमा जेठ ६ गतेदेखि नै नियमित सरसफाइ सहितको तयारी गरिरहेको छ। कार्यक्रम सम्पन्न गर्न आवश्यक खर्चको समेत व्यवस्था गरिरहनुका साथै तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष गुरूङले जानकारी दिए ।