भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिग सुरु भएको छ ।
आज (शुक्रबार) बाट सुरु भएको लिगको उद्घाटन खेलमा स्टेप बाई स्टेप र ओम शान्ति एकेडेमीले गोलरहित बराबरी गर्दै अंक बाँडेका छन् । दुबै टिमले पाएका केही अवसर खेर फाल्दा अंक बाँड्न वाध्य भएका हुन् ।
लिगमा शनिबार कुनै खेल हुनेछैन । आइतबार भने दुई खेल हुनेछ । आइतबार समूह ए का ढड्डाघारी मावि र गौरीगन्ज मावि भिड्नेछन् । खेल दिउँसो ४:३० बजे कृष्णपुरको मैदानमा हुनेछ । सोही समयमा समूह बी का ग्रीनल्याण्ड पब्लिक स्कुल र सिदार्थ मावि भिड्नेछन् । खेल अमर मावि पाटिहानीमा हुनेछ ।
चितवन जिल्ला फुटबल संघ सह आयोजक रहेको लिग जेष्ठ १९ गतेसम्म चल्नेछ । प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । छ समूहबाट समूह विजेतामध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्नेछन् । बाँकी दुई समूह विजेता र छ समूह उपविजेता गरी आठ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ ।
यसिअबीच लिगको उद्घाटन गर्दै महानगर प्रमुख रेणु दाहालले यस लिगले राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । दाहालले दैनिक भइरहेका खेलकुद प्रतियोगिताले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताईन् ।