म्याग्दी (बेनी) । म्याग्दीका लेकाली क्षेत्रका वनजङ्गलमा ढकायो टिप्न थालिएको छ । तरकारीको रूपमा प्रयोग गरिने ढकायो टिप्न यतिबेला जिल्लाका उच्च पहाडी क्षेत्रमा बस्ने स्थानीयलाई चटोरो छ ।
जिल्लाको कुइनेमङ्गले, कुइनेखानी, चौरखानी, ढाँड, दुवाडी, घ्यासीखर्क, पात्लेखर्क, चिमखोला, मल्कबाङ, मलम्पार, मुदी, खिबाङ, बगर, लुलाङ, गुर्जा लगायत गाउँबस्तीका स्थानीयले ढकायो टिप्ने गरेका छन् ।
रघुगङ्गा गाउँपालिका– ८ कुइनेमङ्गलेका जीवन छन्त्यालले अहिले लेकाली क्षेत्रका जङ्गलहरूमा ढकायो टिप्ने चटारो बढेको बताउनुभयो । एकप्रकारको जंगली साग ढकायोका पात र डाँठलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिएका उहाँले बताउनुभयो ।
त्यसलाई गुन्द्रक बनाएर बेमौसममा समेत उपभोग गनेृ गरिन्छ । सो गुन्द्रक उपहारका रुपमा देशका विभिन्न भूभाग र विदेशमा समेत लैजाने चलन रहेको कुइनेमङ्गलेका नरे छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखदेखि असारको पहिलो हप्तासम्म ढकायोसँगै निउरो, वनलसुन, वनधनिया, टुसा, च्याउसमेत सङकलन गर्ने गरिएको उहाँले बताउनुभयो । रासस