चितवन । देवघाट–हलेसी–सगरमाथा मोटर -याली आजदेखि सुरू भएको छ । नेपाल अटोमोबाइल एशोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एशोसिएसन (काडा) ले मोटर टुरिज्म तथा मोटर स्पोट्र्स प्रवर्द्धन गर्ने उद्देश्यका साथ संयुक्तरुपमा अटो जिमखाना एवं मोटर ट्युरिङ एन्ड टिडिएस -याली (प्रतियोगिता) सुरूआत गरेका हुन् ।
दुई रात, तीन दिनसम्म चल्ने -यालीको भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले भरतपुर भ्रमण वर्षलाई सफल बनाउन यस प्रकारका कार्यक्रम निकै महत्वपूर्ण हुने र दुई धाम जोड्ने हिसाबले आयोजना भएको मोटर -यालीले यी क्षेत्रको विकास तथा प्रवर्द्धनमा थप टेवा पुग्ने बताउनुभयो ।
नासा बागमती प्रदेशका अध्यक्ष राजन पियाले मोटर टुरिज्म तथा मोटर स्पोट्र्स प्रवद्र्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको बताउनुभयो । पवित्र धार्मिक तीर्थस्थल देवघाटधामबाट सुरु भएको -यालीले भरतपुर हुँदै हेटौँडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी र हलेसीसम्मको तीन सय २७ किलोमिटर दूरी पार गर्ने उहाँको जानकारी दिनुभयो ।
मोटर र्याली रेसिङको विधाअनुसार टिडिएस -याली (टाइम डिस्टेन्स स्पिड) अन्तर्गत गन्तव्यमा पुग्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गन्तव्यसम्म पुग्नका लागि विभिन्न चेकप्वाइन्ट निर्धारण गरी बाटोको प्रकृतिअनुसार अधिकतम गति दिएको हुन्छ, सहभागीमध्ये आयोजकले दिएको अधिकतम गति समयमा जो गन्तव्यमा पुग्छ प्रतियोगिता उसैले जित्नेछ, प्रतियोगितामा ३० गाडी सहभागी भएका छन् ।”
त्यस्तै उहाँले खोटाङको हर्कपुर, सुनकोसीको किनारमा अटो जिमखाना प्रतियोगिता पनि सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार मोटर रेसिङको सर्टसर्किट विधा अटो जिमखाना छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरी कलात्मक हिसाबले तयार गरिन्छ । त्यहाँ चालकले आफ्नो कला, साहस र सिर्जना प्रस्तुत गर्नेछन् ।
-यालीमा ड्राइभर्स, मार्सल र अन्य प्राविधिक गरी एक सय २४ जनाको सहभागिता रहेको छ । सहभागीलाई खाना तथा बस्ने व्यवस्था र दुर्घटना बीमाकोसमेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको समापन ओखलढुङ्गाको ढापमा हुनेछ । रासस