सूर्यप्रसाद अधिकारी, चितवन । चितवनको भरतपुरमा आगामी बैशाख ७ गतेदेखि औद्योगिक प्रर्दशनी तथा सूचना प्रविधि मेला –२०८१ हुने भएको छ ।
चितवन उद्योग संघ र कम्युटर एशोसिएसन नेपाल महासंघ चितवनको संयुक्त आयोजनामा चितवन प्रर्दशनी केन्द्रमा उक्त प्रर्दशनी तथा मेला हुने भएको हो ।आज आयोजकले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको छ । नवीनतम प्रविधि प्रर्दशन गर्ने र सुस्ताएको आर्थिक गतिविधिलाई लाई चलायमान बनाउने उद्धेश्यसहित मेला आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले सुस्ताएको आर्थिक गतिविधिलाई चलायमान बनाउन र भरतपुर भ्रमण बर्षलाई टेवा दिने उद्धेश्य सहित प्रर्दशनी गर्न लागिएको बताए । ‘कोरानापछि चितवन लगायत देशभरको आर्थिक गतिविधि सुस्त छ , उनले भने, उद्योगी व्यवसायीलाई केही राहत र उत्पादनको बजारीकरण होस भन्ने हेतुले पनि प्रर्दशनी आयोजना गर्न लागेका हौं ।’
मेलामा उद्योग र प्रविधिका गरी १५० वटा स्टल रहने अध्यक्ष न्यौपानेले जानकारी दिए । उनका अनुसार स्वदेशी तथा विदेशी उद्योगका गरी उद्योगका ७५ वटा र सूचना प्रविधिका ७५ वटा स्टल रहने छ । प्रर्दशनी केन्द्रको दुईवटा हलमा अलग अलग उद्योग र सूचना प्रविधिका स्टल रहने छ । प्रर्दशनीमा लघु, घरेलु तथा साना उद्योगलाई उपयोगी हुने नवीनतम प्रविधि, कृषिजन्य उत्पादन , उद्योग, पर्यटन स्वास्थ्य लगायत सेवा सम्बन्धीका स्टल रहनेछन ।
प्रर्दशनीमा ‘बिटुबी’ र ‘बिटुसी’ मिटिङ्गका माध्यमबाट उत्पादनको बजारीकरण गर्ने , उद्यमशीलतालाई प्रोत्साहन गर्ने, स्वदेशी तथा विदेशी उद्योग बीच ज्ञान तथा अनुभव साटासाट गर्ने र ब्राण्डिङ्ग, लेबलिङ्ग, प्याकेजिङ्ग विषयमा ज्ञान अभिवृद्धि गर्ने लगायतका गतिविधि गरिने न्यौपानेको भनाई छ ।
यस्तै सूचना प्रविधि मेलामा ‘चितवनको सम्बृद्धि सूचना प्रविधि’ भन्ने मुल नाराका साथ कम्युटर तथा सूचना प्रविधिका एक्सेसोरिज , सफ्टवेयर ,इन्टरनेट सेवा प्रदायकका स्टल रहने कम्युटर एशोसियसन नेपाल महासंघ, चितवनका अध्यक्ष टेकलाल भुषालले जानकारी दिए ।
मेलामा आउने अवलोकनकर्ताको लागि कम्युटर, ल्यापटप तथा प्रिन्टर मर्मत सेवा निःशुल्क गरिने भुषालले बताउनु भयो । उपभोक्ताको सहुलियतका लागि प्रर्दशनी अवधिभर शुन्य व्याजदर र किस्ताबन्दीमा ल्यापटप खरिद गर्ने व्यवस्था गरिएको छ ।
नागरिकलाई सूचना प्रविधिमैत्री बनाउन र चितवनको सूचना प्रविधि व्यवसायलाई उकास्ने उद्धेश्य सहित मेला आयोजना गरिएको अध्यक्ष भुषालको भनाई छ । पांँच दिनसम्म चल्ने उक्त प्रर्दशनी तथा मेलामा २५ हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । ७० लाख अनुमानित खर्च लाग्ने उक्त प्रर्दशनी तथा मेलामा प्रवेश शुल्क निःशुल्क गरिएको छ । मेला बैशाख ११ गतेसम्म चल्नेछ ।