काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले प्राकृतिक दृश्य, सम्पदा तथा मौलिक विषयलाई कला सृजनामा उठान गरी प्रदर्शन गर्दा त्यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताउनुभएको छ ।
नेपाल कला परिषद् काठमाडौँमा जारी मुन्धुम अन्तरराष्ट्रिय कला प्रदर्शनीको आज अवलोकन गर्नुहुँदै पूर्वराष्ट्रपति डा यादवले खोटाङका मौलिक पहिचान, कलासंस्कृति र रहनसहनलाई ‘क्यान्भास’मा उतारेर काठमाडौँमा प्रदर्शन गर्दा विशेषतः खोटाङको परिचय आम नेपाली र विश्वसामु पुग्ने बताउनुभयो ।
कला सृजनाको अवलोकनपछि प्रतिक्रिया व्यक्त गर्दै पूर्वराष्ट्रपति यादवले प्राकृतिक सौन्दर्यको खानी हाम्रो देशका कला र संस्कृतिको प्रवद्र्धन गर्न जरुरी रहेको उल्लेख गर्नुहुँदै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई विशेष धन्यवाद दिनुभयो ।
प्रदर्शनीको आजै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव र नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रकाशमान सिंहले पनि अवलोकन गर्नुभयो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो, काठमाडौँको आयोजनामा यही फागुन ५ गतेदेखि यहाँ कला प्रदर्शनी सुरु भएको हो । उक्त ‘मुन्धुम अन्तरराष्ट्रिय चित्रकला प्रदर्शनी’ १७ गतेसम्म जारी रहनेछ । प्रदर्शनीमा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहँदै आएको छ । सांसद, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु अभिरुचिका साथ कला अवलोकन गर्न आएका छन् ।
यसअघि प्रदर्शनीमा सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायत सांसदले अवलोकन गरिसक्नुभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले राससलाई जानकारी दिनुभयो ।
प्रदर्शनीमा ५० देशका दुई सय १० चित्र सृजना समावेश छन् । स्वदेशी र नेपाल आएका विदेशी (१४ देशका) कलाकारले गत असोज १७ देखि २० गतेसम्म दिक्तेलमै पुगेर मुन्धुम अन्तरराष्ट्रिय चित्रकला कार्यशालामा सहभागी भई बनाएका सृजनाहरु यहाँ समावेश छन् । यसका साथै विदेश र स्वदेशबाट मगाइएका कूल ५० देशमा दुई सय १० भन्दा बढी चित्र प्रदर्शनीमा राखिएको धनु आर्ट स्टुडियोका सञ्चालक धनु याख्खाले बताउनुभयो । प्रदर्शनीमा अवलोकनका लागि कला पारखीहरुको बाक्लो उपस्थिति हुने गरेको उहाँले बताउनुभयो ।
नगरपालिकाका प्रमुख भट्टराईले पालिकाको संस्कृति र पर्यटनलाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । उहाँले एउटै चित्र रु दुई–तीन लाखमा किन्ने भनेर धेरै कलापारखी आउनुभएका तर यहाँ समावेश सबै चित्रकलालाई अन्तरराष्ट्रिय सङ्ग्रहालयका बनाएर खोटाङमै राखिने बताउनुभयो ।
नेपालसहित अष्ट्रेलिया, बङ्लादेश, भूटान, चीन, जापान, इजिप्ट, भारत, लाद्भिया, लिथुवानिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनामका कलाकारले दिक्तेल नै पुगेर चित्र बनाएका थिए । रासस